यु ट्युब मुख्यालयमा गोली प्रहार, १ को मृत्यु ४ घाईते

एजेन्सी, चैत २१ ।
अमेरिकाको उत्तरी क्यालिफोर्निया स्थित यु ट्युब मुख्यालयमा गोली चलाउने महिलाको मृत्यु भएको छ । प्रहरी प्रबक्ताका अनुसार स्थानीय समय अनुसार मंगलवार दिउसो करिब ४ बजे गोली चलाउने महिला मृत भेटिएकी छिन् । उनको गोली प्रहारबाट ४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार गोली लागेका तीन जनाको सान फ्रान्सिस्को जनरल अस्पतालमा उपचार भैरहेको छ । गोली लागेका एक ३६ बर्षीय पुरुष र ३२ बर्षीय महिलाको अबस्था चिन्ताजनक छ । उपचाररत २७ बर्षीय महिलाको अबस्था भने खतरामुक्त छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार बन्दुकधारी महिलाले अन्तमा आफैलाई गोली प्रहार गरेकी हुन् ।
घरेलु रिसिइबीको कारण ती महिलाले यु ट्युब मुख्यालयमा कार्यरत एक जना ब्यक्तिलाई निशाना बनाएको र ती ब्यक्तिलाई गोली प्रहार गरेपछि आफुले आफैलाई गोली हानी मारेको स्थानीय सान ब्रुनो प्रहरी प्रमुख बारबेरिनीले बताए । ती महिलाले आफ्नो केटा साथीलाई गोली चलाएलगतै आफुले आफैलाई गोली हानेकी थिइन् । ती महिलाको बारेमा प्रहरीले बिस्तृत जानकारी सार्वजनिक गरेको छ्रैन । गुगलको स्वामित्वमा रहेको यु ट्युब मुख्यालयमा करिब १७ सय कर्मचारी कार्यरत छन् । प्रहरीले घटनास्थललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको छ । यू ट्यूबका कर्मचारीले बन्दुकधारीको प्रवेश भएको र गोली चलेको जानकारी गराएपछि तत्काल पुगेको प्रहरीले सो स्थानबाट अन्य नागरिकलाई वाहिर निकालेको थियो ।