युवकले गरे श्रीमतीको हत्या–४ सन्ताको विचल्ली, श्रीमान पक्राउ

गुल्मी, कार्तिक १८ ।
गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् । प्रहरीले आइतबार मदाने गाउँपालिका ६ पनाहाका ३३ वर्षका दुर्गा नेपालीलाई धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका अनुसार उनी आफ्नी श्रीमती ३१ वर्षकी सीता नेपालीको हत्या गरी फरार थिए । आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालीलाई सार्वजनिक गरेको छ ।

जंगलमा खाली गोठमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले उनलाई नियन्त्रणमा लिएको एसपी बस्नेतले बताए । नेपालीले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीमा दिएको बयानअनुसार तीजमा माइत गएकी उनकी श्रीमती कात्तिक १५ गते घर फर्किएकी थिइन् ।

दुर्गाले श्रीमती घर आएको खबर गाउँलेबाट पाएका थिए । त्यसपछि रक्सी सेवन गरेर घर गएका उनले घरमा श्रीमती भेटेनन् । राती ९ बजे स्थानीय राजकुमार थापाको कोही नबस्ने खाली घरमा भित्रबाट ढोका लगाई लुकेर बसेको थाहा पाएपछि दुर्गाले ढुंगाको छानो भएको पालीबाट छिरेर भित्र गएका थिए । प्रहरीका अनुसार दुर्गाकी श्रीमती सीता ४ छोराछोरीसहित त्यहाँ भुइँमा सुतिरहेकी थिइन् ।

दुर्गाले घर जाम् भन्दा नमानेपछि ढोकाको आगुलोले हिर्काएको बयान प्रहरीसमक्ष दिएका छन् । श्रीमतीलाई टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा हानेर उनी छोराछोरीलाई लिएर घर फर्किएका थिए । दुर्गाले आफूले भोलिपल्टमात्र श्रीमतीको मृत्यु भएको जानकारी पाएको प्रहरीसमक्ष बताएका छन् ।

उक्त घटनापछि फरार दुर्गा कात्तिक १७ गते राती ११ बजेको घरमा गई मकै भटमास भुटेर, कपडा, कराहीसमेत पोको पारी धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा गएर बसेका थिए ।

आमाको मृत्युपछि ४ सन्तानको बिचल्ली

बाबुको प्रहारबाट आमाको मृत्यु भएपछि ४ सन्तानको बिच्ल्ली भएको छ । आमाको मृत्यु भएको र आमाको हत्या आरोपमा बाबु पक्राउ परेपछि उनीहरुको विचल्ली भएको हो । नेपाली दम्पत्तिको एक छोरी र ३ छोरा छन् ।

उनीहरुको उमेर डेढदेखि ११ वर्षसम्म रहेको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले नै खानपानको प्रबन्ध मिलाएको छ ।

नेपालीका छोरा विपीन ११, विकास ५, र विक्की डेढ वर्षका छन् । छोरी विपना ८ वर्षकी छन् । बालबालिकाको बिचल्ली भएकाले तत्कालै हेरचाहको आवश्यकता रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।