यी हुन् विवेकशील साझाबाट काठमाडौंका उम्मेदवार

काठमाडौं, असोज २३ ।
विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ बाट २६ वर्षीया सुबुना बस्नेतलाई अघि सारेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापाको नाम सिफारिस भइसकेको छ । एमालेबाट भने सांसद राजन भट्टराईको उठ्ने भएका छन् ।
पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ र अर्का संयोजक उज्ववल थापा काठमाडौं ५ नम्बर क्षेत्रबाट चुनावी मैदानमा उत्रने तय भइसकेको छ । आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तय गरिएको हो । काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डेलाई अगाडि सारिएको छ ।
विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय महिला पत्रकारिता सञ्जालको कार्यसमिति सदस्य अनुपा श्रेष्ठलाई भने काठमाडौं ७ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय भएको छ प्रवक्ता रमेश पौड्यालले बताए ।
चार वर्षअघि स्थापित विवेकशील नेपाली दल र ७ महिनाअघि स्थापित साझा पार्टीबीचमा एकीकरण भई विवेकशील साझा पार्टी निर्माण भएको थियो । एकिकरणपछि पार्टीले चुनाव चिह्न ‘तराजु’ प्राप्त गरेको छ ।