यानबहादुरले किन गरे श्रीमतिको हत्या ?

पोखरा, असोज ११ ।
यानबहादुर बुधबार राती ढिलो गरी घर फर्किए । रक्सीले टिल परेर घर आएका उनलाई श्रीमतिले किन ढिलो आएको भनेर गाली गरिन् । यानबहादुर झोकिए र ढुंगाले टाउकामा बजाईदिए । घटना राती साढे ९ बजेपछि भएको हो ।

सँधैजसो रक्सी पिएर घर आउने यानबहादुर बुधबार बढी नै मातेका थिए । धेरै बर्षपहिले यानबहादुरले अर्कैकी श्रीमति श्रीमायालाई भगाएर विहे गरेका हुन् । त्यसपछि सुकुम्बासी बस्तीमा श्रीमायाका दाइले टहरो बनाएर राखिदिएका थिए । हत्या गर्नुपर्ने खासै ठूलो कारण नदेखिएको घटनास्थलबाट प्रहरीले जनाएको छ ।

श्रीमतिलाई हत्या गरेपछि उनले छिमेकीलाई खवर छोडेर भागेका थिए । तर दुईघण्टाभित्रै प्रहरीले हत्यारा पक्राउ ग¥यो । ‘घटनास्थल भन्दा अलि पर डिलमनि लुकेर हेरिरहेको थियो । घटनास्थल खोला नजिकै थियो । यानबहादुर अलि पर खोलापारीको डिलमा लुकेको रहेछ, घटनास्थल पुगेका कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–अपराधी टाढा गएको छैन भन्ने हामीलाई सुरुमै थाहा भैसकेको थियो । त्यसैले नजिकै खोज्न थाल्यौं । दुईघण्टा नवित्दै पक्राउ परे ।’

कास्की प्रहरीका असई सन्तोष सुवेदी र संघीय इकाई प्रहरीका असई भद्र पौडेलले हत्यारा पक्राउ गरेका हुन् । विहानैदेखि कास्की प्रहरी प्रमुख एसपी राना सहितको टोलि घटनास्थलमा पुगेको थियो ।