यस्तो छ ३५ लाखमा बनेको पुल !

म्याग्दी, साउन २ ।
म्याग्दीको धवलागिरी गाउँपालिका जोड्न फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण गरिएको छ । लक्ष्यभन्दा ३ महिना ढिला गरी निर्माण सकिएको यो अस्थायी प्रकतिको पुलमा ३५ लाख रुपैयाँ खर्च भएको छ ।

ठूलो रकम खर्चिएको पुलमा सल्लाको काठको प्रयोग गरिएपछि समाजिक सञ्जालमा त्यसको ब्यापक आलोचना भएको छ । आलोचना भएपछि उपभोक्ता समितिले पुल बनाउँदा भएको खर्चको विवरण नै सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष भीमप्रसाद छन्त्याल र सचिव निलप्रकाश थापा (सरोज)ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आयोजनाबारे स्पष्टीकरण दिएका छन् । विज्ञप्तिमा पुल पारदर्शी ढंगले, तोकिएको मापदण्ड र गुणस्तर अनुसारको बनाइएको दावी गरिएको छ । यो पुल बनाउन गाउँपालिकाको ३३ लाख २८ हजार रुपैयाँ खर्च भएको छ भने दुई लाख ८४ हजार ७८ रुपैया बराबरको जन श्रमदान पनि छ ।

अध्यक्ष छन्त्यालले ४ लाख ९७ हजार रुपैयाँ आफ्नै खल्तीबाट समेत खर्च भएको दावी गरे । बिम खरिद, ढुवानी, फिटिङ, जडान, फेब्रिकेशन र रंग लगाउने काममा गाउँपालिकाबाट सात लाख २८ हजार रुपैया खर्च भएको गरिएको समितिले जनाएको छ ।

गाउँपालिकाको यो खर्चसहित पुल बनाउन ३५ लाख आठ हजार रुपैयाँ लागेको विज्ञप्तिमार्फत स्पष्ट गरिएको छ । पुलमा पाँच मिटर २० सेन्टिमिटर अग्लो तीनवटा पक्की पिल्लर राखिएको छ । पुलमा आठ वटा फलामे बिम राखिएका छन् । फलामका बिम माथि सल्लाका काठ बिछ्याइएको छ ।

दायाँ बायाँको पिल्लरको चौडाई चार मिटर र बिचको पिल्लरको चौडाई तिन मिटर ७० सेन्टिमिटर रहेको विज्ञप्तिमा उल्लेख छ । पुलको लम्बाई १८ मिटर र चौडाई ३.५ मिटर हो । यो पुल धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनसहित मालिका गाउँपालिकाका उपाध्यक्षले गत असार २९ गते उद्घाटन गरेका हुन् । धवलागिरी गाउँपालिकाले यो पुललाई स्थानीय गौरबको आयोजननाको रुपमा लिएको थियो । उपभोक्ता समिति अध्यक्ष छन्त्याल गाउँपालिकाकै गाडी चलाउने चालक हुन् ।

यो पुल जडान भएपछि धवलागिरी गाउँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई सुबिधा पुगेको बताइएको छ । तर, पुलको विश्वसनीयतामाथि भने प्रश्न उठिरहेको छ ।
तश्विर/सामाजिक सञ्जाल