यस्तो छ पैसा कमाउने आइडिया

एजेन्सी, बैशाख १० ।
चीनको अन्लाइन बजार सञ्चालन गर्ने कम्पनी अलीबाबाका प्रमुख ज्याक माले युवकहरूलाई सकेसम्म धेरै घन्टासम्म काम गर्ने सल्लाह दिएका छन् । उनको सल्लाहपछि चीनमा काम र आरामका विषयमा बहस चलेको छ ।

ज्याकले हप्तामा ६ दिन १२ घन्टाको दरले काम गर्नुपर्ने अनि मात्र युवकहरूले धन कमाउन सक्ने सल्लाह दिएका थिए । उनको सल्लाहलाई केहीले आलोचना गरेका छन् भने चीनमा आर्थिक वृद्धि दर घटेकोमा अनेक मानिस उनको पक्षमा समेत लागेका छन् ।

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीको मुखपत्र पीपुल्स डेलीले एक सम्पादकीय टिप्पणी लेखेर ओभरटाइम अनिवार्य गर्ने प्रस्तावबाट व्यवस्थापकहरूको घमण्ड झल्किने बताए । पत्रिकाले यस किसिमको सुझावलाई अव्यावहारिक र अनुचित बताएको छ ।

चीनमा सबभन्दा बढी गरिने एक गुनासोमा लामो समयसम्मको ड्युटीका कारण देशमा जन्मदर घटेको गुनासो पनि पर्छ । तर ज्याक माले आलोचनाहरूको जवाफ दिँदै काममा आनन्द लिन सक्नुपर्ने र यसमा अध्ययन, चिन्तन र आत्मसुधारको समय पनि संलग्न गर्नुपर्ने बताए ।