कास्कीका स्थानीय तहलाई ३ अर्व बजेट, अघिल्लो बर्षभन्दा १५ करोड कम (पूरै हेर्नुस्)

प्रकाश ढकाल
पोखरा, जेठ ६ ।
नेपाल सरकारले कास्कीका स्थानीय तहलाई झण्डै ३ अर्व बजेट विनियोजन गरेको छ । ५ स्थानीय तह रहेको कास्कीमा २ अर्व ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । यो बजेट अघिल्लो बर्षभन्दा १४ करोड ७६ लाख रुपैयाँ कम हो । अघिल्लो बर्ष कास्कीका स्थानीय तहले २ अर्व ९४ करोड रुपैयाँ पाएका थिए ।

देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाले १ अर्व ८१ करोड ८६ लाख रुपैयाँ बजेट पाएको छ । उता अन्नपूर्ण गाउँपालिकाले २८ करोड ३१ लाख, माछापुच्छ्रेले २५ करोड ५३ लाख, मादीले २४ करोड ७८ लाख र रुपा गाउँपालिकाले १९ करोड ८ लाख रुपैयाँ बजेट पाएको छ ।

अघिल्लो आर्थिक बर्ष कास्कीका स्थानीय तहले पाएका बजेट

अन्नपूर्ण बाहेक सबै गाउँपालिका र नगरपालिकाले अघिल्लो बर्षभन्दा कम बजेट पाएका छन् । पोखरा महानगरपालिकाको बजेट अघिल्लो बर्षभन्दा करिब १ करोड कम बजेट पायो । अघिल्लो बर्ष पोखराको बजेट १ अर्व ८२ करोड ५७ लाख थियो । माछापुच्छ्रेको अघिल्लो बर्षभन्दा ५ करोड १२ लाख रुपैयाँ कम बजेट छ । अघिल्लो बर्ष माछापुच्छ्रेले ३० करोड ६५ लाख पाएको थियो ।
मादी गाउँपालिकाले सबैभन्दा बढी रकम गुमाएको छ । अघिल्लो बर्षभन्दा ७ करोड ४४ लाख रुपैयाँ कम बजेट मादीले पाएको हो । अघिल्लो बर्ष मादीले ३२ करोड २२ लाख रुपैयाँ पाएको थियो । रुपा गाउँपालिकाको भने सामान्य मात्रै घटेको छ । यद्यपी रुपाले पनि १ करोड ८३ लाख कम बजेट पायो । रुपाको अघिल्लो बर्ष २० करोड ९१ लाख रुपैयाँ थियो ।

अघिल्लो बर्ष कम बजेट पाएको अन्नपूर्णले यसबर्ष कास्कीका ४ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट पाएको छ । अघिल्लो बर्ष २७ करोड ९५ लाख रुपैयाँ पाएको अन्नपूर्णलाई यसबर्ष ३५ लाख रुपैयाँ बढी दिईएको हो । स्थानीय तहलाई बजेट विनियोजन गर्दा जनसंख्या, क्षेत्रफल र खर्च गर्ने दर तथा सामाजिक सूचकलाई आधार मान्ने गरिन्छ ।