यस्ता पो सांसद ! भएभरका सुविधा जनसेवामा

पोखरा, माघ ८ ।
राजधानीमा घर भएर पनि सरकारबाट आवास सुविधा लिनु अव नौलो भएन । स्वकीय सचिवका तलव सुविधा पनि सांसदले लिन्छन् भन्दा अचम्म मान्नुपर्दैन । तर सरकारले सांसद भएबापत दिएको सबै सुविधा जनसेवामा लगाएको तथ्य पाउनुभयो भने त अचम्म लाग्छ होला नि ।

गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सांसदको रुपमा शपथ लिएपछि हालसम्म प्राप्त सबै सरकारी सुविधा विकास निर्माण र सामाजिक काममा लगानी गरेका छन् । सरकारले दिएको सुविधा र त्यसमा आफ्नो ब्यापार ब्यवसायबाट समेत थप गरेर जनताको समस्यामा सहयोग गरेको फेहरिस्थ पोखरामा पत्रकार सम्मेलन गरेर दवाडीले सार्वजनिक गरे ।

उनका अनुसार सांसदको तलव भत्ता र अन्य सुविधा वापत सरकारले हालसम्म ७ लाख ३० हजार ३ सय १५ रुपैयाँ जम्मा गरिदिएको छ । सरकारले जम्मा गरिदिएको यो रकम सहित साढे १२ लाख भन्दा बढी रकम उनले निर्वाचन क्षेत्रमा सहयोग गरेको बताएका छन् ।

‘जनताको प्रतिनिधि जनसेवाकै लागि हो भन्ने मैले बुझेको छु । जनप्रतिनिधिले उल्टै सरकारी तलव भत्ता खाएर बस्न थाले देशको विकास कसरी हुन्छ ?, उनले भने–सरकारले दिएको सबै सुविधा म चाहीँ जनहितमा लगाउँछु । मैले आफ्नो ब्यवसायबाट पनि केही प्रतिशत आम्दानी समाजसेवामा छुट्याउने गरेको छु ।’ जापानमा नेपाली ह्याण्डिक्राफ्टको ब्यापार गर्दै आएका उनी अघिल्लो बर्षको चुनावमा नेपाली काँग्रेसको तर्फबाट विजयी भएका हुन् । दवाडीले सांसद हुनुभन्दा अघि देखि नै विभिन्न विद्यालयमा छात्राबृत्ती र स्टेशनरी सहयोग गर्दै आएका थिए ।

विशेषगरी आमा समूह, यूवा क्लव, विद्यालय र उपचार नपाएर रोगसँग लडिरहेकाहरुलाई आफुले सहयोग गरेको उनले सुनाए । उनले प्रदेशसभा खासै प्रभावकारी हुन नसकेको प्रति पनि दुखेसो गरेका छन् । ‘धेरै शहीदहरुको त्याग, बलिदान र संघर्षपछि आएको नयाँ राज्यब्यवस्थापछि जनतामा ठूलो उत्साह थियो । विकासको मुल फुट्ने आसमा थिए, सहज सेवा पाउने विश्वासमा थिए जनता, उनले भने–तर दुर्भाग्य हामीले त्यसको अनुभुति दिलाउन सकेका छैनौं । सरकारले त्यसको थालनी समेत गर्न सकेको छैन ।’

संघीयताको सफलता प्रदेशमा निहित रहेको भन्दै उनले केन्द्र सरकारले सहयोग नगरेको प्रति गुनासो गरेका छन् । ‘केन्द्र र स्थानीय तह केही परिमार्जित रुप हुन् भने प्रदेशसभा र प्रदेश सरकार पूरै नयाँ संरचना हो । त्यसैले देशको भविष्य प्रदेशमा केन्द्रित छ, उनी अघि भन्छन्–तर केन्द्र र स्थानीय सरकारको चेपुवामा अहिले प्रदेशसभा र प्रदेश सरकार फसिरहेको छ । केन्द्रमा शासन गर्नेहरुबाट केन्द्रिकृत मानसिकता अझै हट्न सकेको छैन भने अधिकार विहिन प्रदेशलाई स्थानीय तहले समेत नटेर्ने अवस्था सिर्जना भैसकेको छ ।’

सांसद दवाडीले सिंह दरबार जनताको घरदैलोमा पुर्याउने भनेर गरिएको राज्य पुनर्संरचनापछि पनि जनताले सहज सेवा पाउन नसकेको आरोप लगाए । ‘सरकारले जनताको कोठाकोठामा छिरेर कर लिएको छ । तर सिंह दरबार काठमाण्डौंबाट अन्त गएन, उनी भन्छन्–जनतालाई कर थुपार्नका लागि मात्रै संघीयता ल्याईएको हो भने यो सफल हुँदैन । नभए जनताले संघीयताको फल चाख्न पाउनुपर्छ ।’ दवाडीले केही उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने तयारीमा आँफु लागिरहेको समेत बताए ।