यस्ता छन् प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका ६ सारथी

पोखरा, चैत १३ ।
प्रदेश नम्बर ४ को मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । गएको फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद् विभिन्न चरण हुँदै सोमबार पूर्ण भयो । मन्त्रीपरिषद्मा सोमबार ३ मन्त्री थपिए । प्रदेश ४ मा एमालेबाट मुख्यमन्त्री बाहेक ४ मन्त्रालय र माओबादीलाई २ मन्त्रालय भाग लगाईएको थियो ।
माओबादीले त्यतिबेलै नाम पठाएर मन्त्री बनायो । एमालेमा भने आन्तरिक समस्याले केही ढिलो गरी मन्त्रीमण्डल विस्तार गरिएको हो । प्रदेश ४ मा एमालेबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन तथा माओबादीबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा लेखबहादुर थापा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री गुरुङ लमजुङका बासिन्दा हुन् भने मन्त्रीहरु किरण तनहूँ, बस्नेत गोरखा, लम्साल पर्वत, पुन म्याग्दी, चुमान तनहूँ र थापा गोरखाका हुन् । यो प्रदेशमा २ जिल्लाले २÷२ जना मन्त्री पाएको छ भने मनाङ, मुस्ताङ, बाग्लुङ, स्याङजा र नवलपुरबाट मन्त्री बनेका छैनन् । एकताका कास्कीले पनि मन्त्री पाउनुपर्ने दावी सहित नेकपा माओबादी केन्द्रमा केही समय विवाद समेत भयो । तर केन्द्रबाट नै निर्णय आएकाले सच्याईएन ।