यसरी मिल्यो वडाध्यक्ष–कर्मचारी विवाद

पोखरा, पुस ७ ।
एकअर्काले झापड हानेको भन्दै विवादित बनेको पोखरा १३ का वडाध्यक्ष र कर्मचारीको विवाद टुंगिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पीडित र पीडकबीच भएको छलफलमा जिसीले आगामी दिनमा घटना नदोहोरिने प्रतिबद्धता जनाए । ‘मेरो घरभित्र भएको घटना हो । म आँफै मिलाउँछु, उनले भने–दुवैपक्षको मनोवल उच्च बनाउने दायित्व मेरो छ । आगामी दिनमा यस्तो घटना दोहोरिँदैन ।’ समस्या समाधानका लागि महानगरमा त्रिपक्षीय बैठक भएको थियो ।
कर्मचारी र जनप्रतिनिधी बीच हार्दिकता र सुमधुर सम्बन्ध स्थापीत गर्ने बिषयमा दुवै पक्षले सहमति गरेपछि विवाद टुंगिएको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष तथा वार्ताका सदस्य भरत भुषाले बताए । ‘माफी माग्ने काम कसैले पनि गरेको होईन । सामाञ्जस्य हिसावले आगामी दिनमा गल्ती नदोहो¥याउने समझदारी भएको छ, उनले भने ।’ महानगर स्थित पशुसेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले आर्वा सेवा केन्द्रमा किसानसँग छलफल गर्ने कार्यक्रममा वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले गाली गलौज सहित हातपात गरेको भन्दै लामा विरुद्ध महानगरका निवेदन दिएका थिए । तर लामाले पनि उल्टै अर्यालले आँफुलाई हातपात गरेको बताएपछि सरोकारवालाको बैठक विहिबार महानगरमा बसेर समस्या टुंग्याएको हो ।
घटनापछि कर्मचारीका संघ संगठनले वडाध्यक्षको कदम गलत भएको भन्दै विरोध गरे । पशु सेवा कार्यालय अन्तर्गतका फिल्डमा कार्यरत कर्मचारीले काम छोडेर विरोध जनाए । आधिकारिक ट्रेड युनियन, कर्मचारीका संघ संगठन लगाएतले पनि बैठकमै सहभागी भएर जनप्रतिनिधीको यस्तो कदमले कर्मचारीको असुरक्षा बढ्ने भन्दै सुरक्षित वातावरण बनाईदिन आग्रह गरे ।