यसपालिको रोपाईं महोत्सव कसेरीमा

पोखरा, असार ५ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा हुँदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा १३ को कसेरीमा हुने भएको छ । १८ औं संस्करणको असारे रोपाईं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाउने तयारी भएको परिषद्ले जनाएको छ ।

पोखरा सबै मौसमका लागि” भन्ने नाराका साथ महोत्सव हरेक वर्ष गर्दै आएको छ । पोखरा १३ र पोखरा २८ को सिमाना कसेरीमा मा करिब १० रोपनी क्षेत्रफलमा महोत्सव हुने अध्यक्ष पोम नारायण श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रमहरू हुनेछन् ।

५ सय विदेशी सहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सव सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने आयोजक अनुमान छ ।