म्यानमारको काचिनमा सेना र आदिवासी विद्रोहीबीच तनाव, हजारौं मानिस पलायन

पोखरा, बैशाख १६ ।

म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् । सरकारी सेना र विद्रोहीबीच झडप भएपछि सयौं आदिवासी युद्धग्रस्त क्षेत्रमा फसिरहेका छन् । चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीयबासिन्दाले घरवार छाडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ । त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ । पछिल्लो पटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो ।

संयुक्त राष्ट्रसंघले गत अप्रिलदेखि शुरु भएको दुई समूहबीचको युद्धको चपेटामा परेकाहरुका लागि मानविय सहायताको खाँचो रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ । म्यानमारको पश्चिमी क्षेत्रमा रहेको रोहिंग्या मुस्लिमहरुको संकटबाहेक उत्तरी क्षेत्रमा पनि जातीय अल्पसंख्यक र सरकारी सेनाबीच झडप हुने गरेको बीबीसीले जनाएको छ । सन् २०११ मा सरकारी पक्ष र विद्रोहीबीच युद्ध विराम भंग भएपछि म्यानमारको उत्तरी राज्यमा युद्ध शुरु भएको हो । यसैबीच सर्वसाधारणमाथिको सरकारी दमन र अन्तर्रा्ष्ट्रिय सहायता कोषका प्रतिनिधीलाई म्यानमार प्रवेश गर्न नदिएको भन्दै म्यानमारकी नेतृ आङसाङ सुचीको पनि व्यापक विरोध भइरहेको छ ।(एजेन्सी)