म्याग्दीमा पहिरो, ७ बेपत्ता

म्याग्दी, असार २६ ।
अविरल बर्षापछि म्याग्दीमा पहिरो जाँदा ७ बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका ६ स्थित घण्टीवाङमा पहिरो खसेको हो । भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए । उनीहरु सबैजना बेपत्ता छन् । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । त्यहाँका चार घर विस्थापित भएका छन् ।

मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।

उता रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो ।–रासस

File Photo