मौजामा हाई अल्टिच्युड खेलमैदान बन्दै, डीपीआर तयार

पोखरा, कार्तिक २४ ।
पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ । यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ । पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदान सहित अन्य पूर्वाधार निर्माण गर्न लागेको हो । ५६ रोपनी क्षेत्रफलमा फुटवल, बास्केटवल र रेष्टुरेण्ड सहितका पूर्बाधार निर्माण हुने डीपीआरमा उल्लेख छ ।

‘यसले खेल पर्यटन सँगै जाने भयो । गाउँको होमस्टे पनि फस्टाउछ । डीपीआर अनुसार बास्केटबल र क्यान्टिनको परिकल्पना पनि गरिएको छ,’ वडाध्यक्ष सीम गुरुङ भन्छन्, ‘भविष्यलाई पनि कभर हुने गरी डीपीआर बनेको छ । यसलाई कार्यान्वयन गर्न सके मौजाको आर्थिक विकास तीब्र हुनेछ ।’ खेलमैदान ५ बर्षभित्रमा पुरा गर्ने लक्ष्य छ । योजनाको लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महानगरले खेलमैदान निर्माणका लागी चालू बर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यहाँ अघिल्लो बर्ष पनि फुटवल मैदान बनाउन ८ लाख खर्च भएको छ । मैदानका लागि भिरालो जमिन काटेर सम्याउने काम गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । बजारी क्षेत्रबाट अलि टाढा र सडक सञ्जाल नहुँदा यो गाउँ अलि विकट छ । हाई अल्टिच्युडको सबै क्राईटएरिया पूरा नभएपनि पोखराको अग्लो स्थानमा बन्न लागेकोले यसलाई हाई अल्टिच्युड खेल मैदान नाम दिईएको मेयरमा स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले जानकारी दिए ।

‘पोखराको अग्लो स्थानमा भएको मैदान हो । उचाई बाहेक क्राईटएरिया फुलफिल छ । गार्डेन पनि बनाउने भनेको छ । अरु केही खेलहरु पनि समेट्ने कुरा छ,’ उनले भने । ईन्जिनियर राजु रेग्मीले निर्माणको काम अघिल्लो बर्षदेखि नै सुरु भैसकेको बताए ।