मौजाबासीसँग काँग्रेसको प्रतिबद्धता–“कालोपत्रे सडक रिङरोडसँग कनेक्सन”

पोखरा, मंसिर ६ ।
मौजा, कास्कीकै लागि सँधै विकट यो ठाउँ, पोखरा महानगरको वडा बनेको छ । राज्य पुनर्संरचना आयोगले अघिल्लो बर्ष महानगरमा समायोजन गरिदिएको यो गाउँ, अझै पनि सडक, खानेपानी, विद्युत जस्ता विकासका पूर्वाधारमा धेरै पछाडी छ । महानगर बनेपछि धेरैको अपेक्षा थियो, गाउँमा सबैले खानेपानी पाउँछन् । बजार झर्न र उक्लिन सजिलो हुन्छ, खोलामा पक्की पुल बन्छ र रातसाँझ अँध्यारोमा बस्नुपर्दैन । ‘बर्षदिन अघि महानगर बनेपछि गाउँ मै सरकार गठन भयो । हामी हर्षित थियौं, प्रतिनिधी चुनेर पनि पठायौं, स्थानीय भन्छन्–चुनाव सकिएकै आधा बर्ष कट्यो, गाउँको हालत उस्तै छ । हाम्रो आसा र अपेक्षा उही छ ।’
पटकै पिच्छे चुनावमा प्रतिनिधि छानेका मौजाबासी विकासको पहुँचबाट निकै पर छन् । बर्षौंदेखि उम्मेदवारले गरेका प्रतिबद्धता र घोषणापत्र मौजामा थन्किएको छ । ‘धेरै ठूला आश्वासन दिएर हामीसँग भोट फकाउँछन् । चुनावपछि नाकमुख देख्न पाउँदैनौं, गाउँमा काँग्रेसका उम्मेदवारहरुलाई स्वागत गर्दै मौजावासी भन्छन्–यसपाली काम गर्ने प्रतिनिधि छान्छौं । चिप्ला कुरामा फस्दैनौं ।’ मतदातासँग आफ्ना एजेण्डा जुधाएर काँग्रेसी उम्मेदवारहरुले जनताका सुखदुखमा साथ नछोड्ने प्रतिबद्धता जनाए ।
‘पोखरा महानगरपालिकाभित्र कास्की क्षेत्र नं २ को दुरदराजको गाँउ मौजालाई अब रिङरोडसँग कनेक्सन गरिने छ । भलामहुदैं जाने रिङरोडसँग मौजाको बाटोलाई जोडेर सहजै आउजाउ गर्न मिल्ने बनाउछौं, प्रतिनिधीसमा सदस्य उम्मेदवार देवराज चालिसेले भने–मौजामा विकासको जिम्मेवारी नेपाली काँग्रेसलाई आएको छ ।’ उनले गाउँमा सडकको सहज विस्तार र खोलामा पुल निर्माण गरी प्रश्तावित पोखरा चक्रपथसँग जोड्ने प्रतिबद्धता जनाए । चालिसेका योजनामा सहमति जनाउँदै कास्की क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा–मौजा सडकलाई कालोपत्रे सहित स्तरोन्नती गर्ने दावी गरे । पोखरा स्थायी घर भएका दुवै उम्मेदवार यसपाली गाउँलेको गुनासो सुन्न छलफलमा जुटिरहेका छन् ।
सोही क्रममा थापाले आफनो जितपछिको पहिलो एजेण्डा अनुसार नै सडक निर्माण र स्तरोन्नती गर्ने बताए । उनले घरदैलोपछि आयोजित सभालाई सम्बोधन गर्दै भने–गाउँलेको तत्कालको आवश्यकता मोटरेबल पुल बनाउन सहयोगी भूमिका खेल्छु ।’ त्यसको लागि यहाँहरुको मत काँग्रेसलाई दिनुपर्छ । हामीले (काँग्रेसले) जित्नुपर्छ ।”
गाँउमा खानेपानीको समस्या पनि उस्तै छ । तीन वटा टोलमा एकसय ५० भन्दा घरपरिवारलाई खानेपानीको समस्या छ । एक गाग्री पानीको लागि एक विहान समय लाग्ने गरेको छ । उम्मेदवारहरुले खानेपानीको समस्याको समाधान तत्काल गर्ने प्रतिबद्धता समेत जनाए । “मौजा, मोहरियार हात्तीगौंडामा पानीको समस्या उठाउनुभयो ।”उनीहरुले भने–“त्यसको समाधान तत्कालै गर्ने छौं ।”
मौजा बाख्रापालनको लागि गर्न निकै उपयुक्त क्षेत्र भएको उल्लेख गर्दै उम्मेदवारले बाख्रापालन मार्फत आयआर्जनको लागि समेत सहयोगी भूमिका खेल्ने बताए । सभामा नेपाली काँग्रेस पोखरा महानगरपालिका २० का सभापति तिलबहादुर गुरुङ, क्षेत्रीय सभापति माधव बास्तोला, नेपाली काँग्रेस महिला संघकी संस्थापक अध्यक्ष सकुन्तला गुरुङले काँग्रेसको जितले मात्रै समृद्धि पुरा हुने जिकिर गरे ।