मौजाका घरघरै पानीका धारा

पोखरा, साउन २ ।
स्थानीय तहको नयाँ संरचनामा तत्कालीन मौजा गाविस पोखरा महानगरपालिकामा गाभियो । महानगर बन्ने कुनैपनि संरचना नभएको मौजामा अहिले पनि उस्तै सकस छ, स्थानीयलाई । खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायत कुनैपनि विकासका पूर्वाधार राम्रोसँग पुगेको छैन । विकासका पूर्वाधार नभएकै कारण महानगरबाट निकट भएरपनि मौजा निकै विकटजस्तो देखिन्छ । अहिले गैर सरकारी संस्थाको सहयोगमा गाउँमा बल्लबल्ल खानेपानी विस्तार गरिएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट र युके एडको सहयोगमा मौजामा एक घर एक धारा जडान गरिएको हो । गाउँका ४५ घरमा धारा जोडिर हस्तान्तरण गरिएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए । ‘पानीको हाहाकार थियो । पँधेरोमा गएर पानी ल्याउँदा गाउँलेलाई निकै सकस हुन्थ्यो,’ गुरुङले भने, ‘अहिले घरघरै धारा पुगेको छ । स्थानीय खुशी छन् ।’ सरकारले चासो नदिँदा मौजाबासीले महानगरको महसुस गर्न नपाएको उनले सुनाए ।

गोर्खा वेल्फेयर ट्रष्टले ग्रामीण खानेपानी सरसफाइ कार्यक्रम अन्तर्गत मौजा देखी ७ किलोमिटर पर काब्रोमा रहेको मुलबाट मौजामा पानी वितरण गरेको हो । आयोजनाबाट २ सय ६६ जना लाभाविन्त हुने ट्रष्टका प्रोजेक्ट म्यानेजर बुद्धिबहादुर श्रीसले वताए । गत फागुनमा सुरु भएको खानेपानीको काम चैम महिनामा सकेर अहिले समुदायलाई हस्तान्तरण गरिएको हो ।

३३ लाख ७३ हजार रुपैयाँको लागतमा आयोजना पूरा गरिएको उनले जानकारी दिए । आयोजनामा स्थानीयले पनि ११ लाख ९९ हजारको श्रमदान गरेका छन् । पानी जोडिएको सबै घरमा मिटर छ । जति प्रयोग ग¥यो त्यही आधारमा पैसा तिर्नुपर्छ । प्रत्येक घरले महिनाको ५० रुपैयाँ न्यूनतम रकम तिर्नुपर्ने ब्यवस्था छ । ‘धेरैपटक महानगरपालिकासँग गुहारें । बर्षेनी योजना लगेपनि काटियो,’ वडाध्यक्ष गुरुङ भन्छन्, ‘केही उपाय नलागेपछि गोर्खा वेलफेयर ट्रष्टसँग आग्रह गरेको हुँ ।’

२० नम्बर वडामा अझै धेरै घरहरुमा पानी पुगेको छैन । साविक मौजाका ६ वटा टोल र भलामका ७ टोलमा खानेपानी विस्तार गर्न बाँकी रहेको उनले बताए । पानीको श्रोत राम्रो नभएका कारण समस्या भैरहेको गुरुङको भनाई छ । बाँकी रहेका ठाउँमा पनि पानीको ब्यवस्था गर्न ट्रष्टले सघाउने आश्वासन दिएको वडाले जनाएको छ ।

वडाले लामडाडा गाउँमा पनि छिट्टै ट्रष्टसँग समन्वय गरी खानेपानी ब्यवस्था गर्न लागेको छ । मौजा खानेपानी उपभोक्ता समिति अध्यक्ष देवबहादुर गुरुङले घरघरमा खानेपानीको धाराबाट पानी आएपछि गाउँलेले झेल्दै आएको खानेपानीको समस्या टरेको बताए ।