मोवाईल हरायो ? अव यसो गर्नुस्

एजेन्सी, कार्तिक १४ ।
तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।

अझै अर्का खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनु अगावै तपाई ंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित हुन्छन् । तर तपाई ंले आफ्नो मोबाइल किनेको मूल्यको ५ प्रतिशत रकम भने तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष यो रकम तिरेर उक्त कम्पनीमा दर्ता गर्नुभयो भने सो सेवा पाइन्छ ।

हरायो भने मोबाइल धनीको ५० प्रतिशतमात्र लागतमा नयाँ सेट किनिदिने योजना छ । तर केही महिनापछि यो लागत ३० प्रतिशतमा झार्ने योजना सो कम्पनीको छ । मर्मत तथा नयाँ सेटका लागि सम्बन्धित मोबाइल कम्पनीसँग उक्त कम्पनीले सम्झौता गरेको छ ।

‘मेरो सुरक्षा’ नामको सफ्टवेयर कम्पनीले सेवा सुरु गरेको हो । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार भन्छन्, हामीले यो सेवा सुरु गरेको हप्तादिनमै हाम्रो एप्स् ८ हजारले ‘डाउनलोड’ गरिसकेका छन् । यस कम्पनीसँग हाल अन्य कर्मचारीका अतिरिक्त १० जना कम्प्युटर इञ्जिनियर र सूचना प्रविधिका विज्ञहरु छन् ।

यस सेवाका लागि एनरोइड मोबाइलका लागि गुगलको ‘प्ले स्टोर’ मा र आइफोनका लागि ‘एप्स् स्टोर’ मा गएर ‘मेरो सुरक्षा’ डाउनलोड गर्न सकिन्छ । उक्त कम्पनीको एप्स् डाउनलोड गरेपछि प्रत्येक सेटका लागि त्यसको लागत मूल्यको ५ प्रतिशत रकम अनलाइनबाटै तिरेपछि मेरो सुरक्षाको सञ्जालमा दर्ता हुनेछ ।

यसरी डाउनलोड गरेपछि आफ्नो मोबाइलमा रहेका कुन–कुन डाटाहरु सुरक्षित राख्ने भन्ने जानकारी उक्त एप्स्मार्फत नै मोबाइल प्रयोगकर्ताले कम्पनीलाई दिनुपर्छ । उक्त सफ्टवेयरको एप्स् मा रहेको कुनै एउटा बटम थिचेपछि आफ्नो मोबाइलको डाटा सो स्टोरमा जम्मा हुँदै जानेछ । त्यसपछि त मोबाइल सेट हराए वा नष्ट भए पनि त्यसमा रहेका फोन नम्बर र डाटाहरु उक्त स्टोरमा सुरक्षित रहन्छन् ।

उक्त कम्पनीका अनुसार हाल नेपालमा करिब ३ करोड ४१ लाख मोबाइल सेट छन् । प्रत्येक वर्ष वैधानिकरुपमा अथवा भन्सार तिरेरै ६० लाख र त्यतिकै संख्यामा भन्सार नतिरी सेट भित्रिन्छन् ।

तर, यो कम्पनीले भने यस वर्षका लागि २ लाख सेटमात्र आफ्नो सेवाको सदस्य बनाउने लक्ष्य राखेको छ । सेवा सुरुआतको हप्तादिनमै ३ हजार मोबाइल सेट कम्पनीमा दर्ता भइसकेका छन् । यसले निकै उत्साहित बनाएको बताउँछन् मेरो सुरक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनुवार ।

नयाँ किन्ने र पुराना सेटमा पनि यो सेवा उपलब्ध छ । उपत्यका लगभग सबैजसो मोबाइल पसलमा यो सेवा लिन चाहनेका लागि सूचना दिइएको सुनुवारको भनाइ छ । सदस्य बन्न अनलाइन भुक्तानी नेपालमा अझै प्रभावकारी नभएकाले कतिपय सेवाग्राही कार्यालयमै आउनुपर्ने अवस्था छ ।

व्यक्तिको मोबाइलका डाटाहरु भण्डारण गर्ने काम गोपनीयताभित्र पर्दैन भन्ने प्रश्नमा उक्त कम्पनीका निर्देशक विश्वास अधिकारी भन्छन्, त्यस्तो हुँदैन, हाम्रो एप्स्मा कसैको कुराकानी भण्डारण हुँदैन र मोबाइल प्रयोगकर्ताले जुनजुन डाटाहरु सुरक्षित राखिदिनु भनेका हुन्छन् त्यो मात्र राख्ने हो ।’

मानिसको मोबाइल हराउँदा र नष्ट हुँदा पाएको दुख देखेर यो सेवा सुरु गर्ने योजना बनेको उनको भनाइ छ । ५० हजारको मोबाइल बोक्ने मानिसले आफ्नो मोबाइलको सुरक्षाका लागि वर्षमा २ हजार ५ सय तिर्न तयार हुन्छ, यो उसका लागि केही होइन ।

हरायो भने पनि निश्चित खर्चमा नयाँ मोबाइल र आफ्नो मोबाइलमा रहेका डाटाहरु पाइन्छ । अहिले मोबाइलबाट सुरु गरिएको यो सेवा अर्को वर्षबाट ल्यापटप, ट्याब र कम्प्युटरको सुरक्षामा पनि विस्तार गरिने सुनुवारको भनाइ छ । पछि यो सेवालाई सबै विद्युतीय उत्पादनसम्म पु¥याउने कम्पनीको लक्ष्य रहेको जनाइएको छ ।