मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली

पोखरा, बैशाख २३ ।

श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् । बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिए । वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो । त्यो सूचना आएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले मात्रै होइन, बिहारका मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री सुशील कुमार मोदी र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवलेसमेत दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गरे ।

बिहारको मुजफ्फरपुरबाट दिल्ली जाँदै गरेको बस बिहीबार पूर्वी चम्पारण जिल्लाको कोटवा थाना क्षेत्र दुर्घटना भएको थियो । भारतीय एक मिडियामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै प्रधानमन्त्री मोदीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गर्न सुरु गरेका थिए । बिहारका मुख्यमन्त्री नितिश कुमारले एक सरकारी कार्यक्रममा सहभागी भइरहेको बेला दुर्घटनाको खबर पाएका थिए । लगत्तै उनले शोक व्यक्त गरे र एक मिनेट मौनधारण पनि गराएका थिए । त्यतिमात्रै होइन मुख्यमन्त्री कार्यालयबाट शोक विज्ञप्ति जारी गरियो जसमा लेखिएको छ, ‘बिहारको यस दुर्घटनामा जो व्यक्ति मारिएका छन्, उनीहरुका परिवारलाई नियमअनुसार आर्थिक सहायता उपलब्ध गराइने छ ।’