मेस्सीको अद्भुत प्रदर्शन, पेलेदेखि बालून दोरसम्मलाई गज्जबको जवाफ !

एजेन्सी, पुस २ ।
हिजोको खेल खेल्नुअघि सेभिया र एट्लेटिको मड्रिडसँग बार्सिलोनाको बराबरी अंक थियो तर लियोनेल मेस्सीको तीन गोल र दुईवटा शानदार असिस्टपछि क्लब तीन अंकको अग्रताका साथ ला लिगाको शीर्ष स्थानमा पुगेको छ ।

लेभान्तेविरुद्ध ५–० को विजयमा मेस्सीले अद्भुत खेल प्रदर्शन गरे । अघिल्लो सीजनको दोस्रो अन्तिम खेलमा हारसँगै बार्सा सीजनभरि एउटा मात्र खेलमा हारेको थियो र त्यो हार लेभान्तेविरुद्ध नै थियो । त्यतिखेर मेस्सीलाई आराम दिइएको थियो । तर उक्त हारको बदला लिन उत्रेको बार्सामा यसपालि मेस्सी थिए ।

व्यवस्थापक अर्नेस्टो भाल्भेर्देले ३–५–२ को फर्मेसन बनाउनुपरेको थियो किनकि नेल्सन सेमेदोको घुँडामा चोट लागेपछि उनले खेल्न पाएनन् । बार्सिलोनालाई यो फर्मेसनमा खेल्न बानी परेको नभएपनि मेस्सीले क्लबलाई सहज विजय दिलाउन योगदान गरे ।

उस्मान डेम्बेलेलाई दायाँतर्फको विङब्याकका रूपमा उपयोग गरियो र यी फ्रान्सेली खेलाडीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा अलि बढी नै उत्साह देखाए । उनले जोसे मोरालेसलाई फल गरे अनि पहेंलो कार्ड भेटे । तर खेलप्रति उनको प्रतिबद्धता उल्लेख्य थियो र उनले कुनै घमण्ड देखाएनन् । फर्वार्ड पोजिसनमा खेल्ने अरू खेलाडीले डिफेन्समा भूमिका खेल्नुपरेको भए बेच्नमा बस्न रुचाउँथे होलान् । तर डेम्बेलेले त्यसो गरेनन् ।

बार्सिलोनाका अन्य खेलाडीको प्रदर्शन पनि राम्रो रह्यो । लुइस सुआरेजले मेस्सीको असिस्टमा गजबको गोल गरे । अनि उनले मेस्सीको तेस्रो गोलका लागि भूमिका पनि खेले । तर हिजोको रात अर्जे्न्टिनी खेलाडीकै नाममा रह्यो । अघिल्लो सप्ताहान्तमा इस्पान्योलविरुद्ध दमदार प्रदर्शन गरेका मेस्सीले यो सप्ताहान्तमा पनि बार्सिलोनालाई अरू क्लबभन्दा अगाडि राख्न योगदान गरे ।

गएको सातामा उनले ब्राजिलका महान् खेलाडी पेले लगायतका आलोचकहरूलाई लाज लाग्ने स्थितिमा र्पुयाए । यसपटक उनी त्यस दिन भन्दा अब्बल देखिए । पेलेले मेस्सीको क्षमतामा प्रश्न उठाउँदै उनी एउटा खुट्टाको मात्र विशेष खेलाडी भएको प्रतिक्रिया दिएका थिए । त्यस्तै बालून दोरको शीर्ष ३ मा समेत नपारिएको जवाफ उनले अझै दिइराखेका छन् ।

सिउटाट दे भ्यालेन्सिया स्टेडियममा मेस्सीको प्रत्येक योगदान यादगार रह्यो । उनी युरोपका पाँच ठूला लीगमा गोल र असिस्ट दुवैलाई दोहोरो अंकमा हासिल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यससँगै मेस्सीले अर्को एक कीर्तिमान पनि तोडेका छन् । बार्सिलोनाका लागि जाभीले ला लिगामा बनाएको ३२२ जीतको कीर्तिमान मेस्सीले भंग गरेका छन् । ला लिगामा सर्वा्धिक खेल जित्ने खेलाडीको कीर्तिमान रियाल मड्रिडका पूर्व कीपर इकेर कासियासको नाममा छ र मेस्सी त्यो रेकर्ड तोड्नका लागि १२ जीत मात्र टाढा छन् ।

शुरूआततिर बार्सिलोना अलि हच्किएको थियो र लेभान्तेले क्रसबारमा बल हिर्कायो पनि । तर त्यसको केही समयपछि नै मेस्सीले जादूयी ड्रिबल गरेर सुआरेजलाई पर्फेक्ट पास दिए । सुआरेजले त्यसलाई गोलमा परिणत गरेर बार्सालाई ३५औं मिनेटमा अग्रता दिलाए ।

त्यसको आठ मिनेटपछि मेस्सी आफैंले गोल गरे । सर्जिओ बुस्केट्सले उनलाई दिएको पासलाई उनले तीव्र गतिमा दौडाउँदै लगेर लेभान्तेको डिफेन्सलाई तहसनहस पारिदिए । उनले लेभान्तेका गोलकीपर ओइयर ओलाजाबालको गोडामुनिबाट बल छिराइदिए । उनले दाहिने गोडाले गोल गरेर पेलेलाई थप लज्जित बनाए ।

हाफ टाइमको दुई मिनेटपछि मेस्सीले आफ्नो बलियो देब्रे गोडाबाट गोल गरे । उनले सुन्दर तरिकाले गरेको गोल अरू खेलाडी भएका भए हावातिर उडाइदिन्थे होलान् ।

उनको तेस्रो गोल सामान्य ट्याप इन थियो र त्यो गोल हुनुमा सुआरेजलाई श्रेय जान्छ । सुआरेजले दिएको गजबको क्रसलाई आर्टुरो भिडालले स्वार्थीपना नदेखाइकनै मेस्सीतिर सोझ्याए ।

आफ्ना साथी खेलाडीहरूका लागि अनेकौं योगदान गरिरहने मेस्सीलाई ती खेलाडीहरूले यति त गर्नैपर्छ । अनि बार्साको पाँचौं गोल पिकेले गरे र त्यसमा पनि मेस्सीको योगदान रह्यो ।

बार्सिलोना अहिले कट्टर प्रतिस्पर्धी रियाल मड्रिडभन्दा पाँच अंक माथि छ । यस्तोमा एउटा रोचक प्रश्न उठ्छ ः क्रिस्टियानो रोनाल्डो मड्रिड छोडेर गएजस्तो मेस्सीले बार्सिलोना छोड्ने हो भने ला लिगाको अंकतालिका कस्तो हुन्थ्यो होला ? बार्सिलोना एक सामान्य टोली हैन किनकि यसमा मेस्सी छन् ।

गोल डट्कममा प्रकाशित रिक शर्माको विश्लेषणको भावानुवाद