मेसीको विश्वकप खेल्ने सम्भावना न्यून बन्दै

एजेन्सी, असोज २२ ।
आउँदो वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ । गत बिहीबार अर्जेन्टिनालाई उसैको घरमा पेरुले गोलरहित बराबरीमा रोकेपछि २ पटकको विश्व च्याम्पियन यसपालिको विश्वकपमा समावेश हुने सम्भावना न्यून बनेको हो ।
दक्षिण अमेरिकी छनोट समूहमा शीर्ष ४ स्थान बनाउने देश सीधै विश्वकपका लागि छनोट हुने प्रावधान छ । पाँचौं हुने टिमले प्लेअफ अन्तर्गत ओसियाना क्षेत्रको न्युजिल्यान्ड विरुद्ध खेल्न पाउने र यसबाट विजयी एक टिमले विश्वकपमा प्रवेश पाउने प्रावधान छ ।
पेरुसँग बराबरी खेलेपछि अर्जेन्टिना छैटौं स्थानमा झरेको छ । यसको अर्थ अहिलेको अवस्थामा अर्जेन्टिना छनोटबाट बाहिरिसकेको छ । तर, छनोट अन्तर्गत आउँदो मंगलबार अन्तिम खेल हुँदैछ । यो खेल नै अर्जेन्टिनाका लागि गर या मर को स्थिति बन्नेछ ।
अर्जेन्टिना समुद्री सतहभन्दा २८ सय मिटर माथि रहेको क्युटो शहरमा इक्वेडर विरुद्ध खेल्दै छ । उसलाई विश्वकप छनोटमा आफूलाई जीवित राख्न ३ अंक आवश्यक छ । क्युटो शहरमा अर्जेन्टिना पछिल्लो तीन भिडन्तमध्ये २ मा पराजित र एकमा बराबरीमा रोकिएको थियो ।
इक्वेडर यसअघि नै लगातार पाँच खेल हार्दै छनोटबाट बाहिरिसकेको छ । पाँच पटकको फिफा विश्व खेलाडी मेसीको कप्तानीमा रहेको अर्जेन्टिनामा स्टार खेलाडीको जमघट भएपनि उसले राम्रो फिनिसिङ गर्न सकेको छैन । जसका कारण टिम संकटमा देखिएको छ । मेसी विश्वकपमा देखा पर्ने कि नपर्ने विषयमा अहिले विभिन्न विदेशी पत्रपत्रिकाको पन्ना भरिएका छन् ।
तर, प्रशिक्षक जर्जे साम्पाउली अर्जे्न्टिना अन्तिम खेलमार्फत विश्वकपमा छनोट हुने दाबी गर्छन् । २ खेल अगाडि मात्र अर्जेन्टिनाको प्रशिक्षक नियुक्त भएका उनी भन्छन्, ‘हामीले गोल गर्न मात्र नसकेका हौं । म विश्वस्त छु, हामी विश्वकपमा छनोट हुनेछौं ।’