मेरो उमेदवारी नै तरुण र युवाहरुको प्रतिनिधित्व होः दीपक गुरुङ

पोखरा, कात्तिक २८ ।
कास्की १ (ख) का वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदैे तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन ।

तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख) मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क) मा माओवादीका दीपक कोइराला उमेदवार छन ।

चुनावी अभियानका क्रममा एक कार्यक्रममा बोल्दै गुरुङले आफूहरुलाई पार्टीले युवाहरुको प्रतिनिधित्वको सम्मान गर्दै उमेदवार बनाएको र यसलाई तरुण दल र वाइसिएलले गर्वका साथ लिनुपर्ने बताए ।

‘तरुण दल, नेपाली कांग्रेसर गठबन्धनबाट मैले टिकट पाएको छु । यसलाई अपनत्व लिएर तपाई तरुण साथीहरु जो खटिनुभएको छ । तपाइहरुलाई धन्यवाद ।’ उनले भने, ‘गठबन्धनका अर्का उमेदवार दीपक कोइरालालाई पनि पार्टीले अगाडि बढाएको छ । यसलाई तरुण दल र वाइसिएलले पनि गर्वका साथ लिनुपर्छ ।’

पार्टीले दिएको यो स्थानलाई सम्मान गर्दै सबै तरुण दल, वाइसिएल सहित गठबन्धनका सबै दलहरुको भातृ संगठनलाई एकजुट भएर गठबन्धनका उमेदवारलाई जिताउन उनले आग्रह गरे । जीतपछि संसदमा ‘युथ अफ भोइस’ को रुपमा आवाज उठाउने उनले प्रतिबद्धता पनि जनाए ।

“यो सम्पुर्ण युवाहरुको प्रतिनिधीत्व गरेका छौँ । संसदमा पनि हामीले युवाको आवाज, तरुणको आवाज बोल्दै नीति निर्माण कामहरु गर्नेछौँ ।” उनले भने ।