मेयरले हाने लेखा अधिकृतलाई २ झापड, कर्मचारी आक्रोशित

जनकपुर, असोज ११ ।
महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ ।

पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि २ झापड हानेको मेयर शाहले स्वीकार गरे । ‘नगरपालिकाको हिसाबकिताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक–पटक निर्देशन दिएपछि लेखा अधिकृतले अटेरी गरेका छन्,’ शाहले भने ।

मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । मेयरमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताए ।