मेयरपछि ‘माननीय’

प्रकाश ढकाल
पोखरा, पुस २ ।
बीस वर्ष अघि पोखरा नगरका मेयर हुँदा कृष्ण थापा ४० बर्ष हाराहारीका थिए । २० बर्षपछि उनी ‘माननीय’ बने । २०१७ सालमा जन्मिएका थापा विद्यार्थी राजनीतिका उत्पादन हुन् । उनले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियू पाँचौबाट राजनीति थालेका थिए । २०४१ सालमा पार्टीको सदस्यता लिएका थापा उतिबेलै अनेरास्ववियु कास्कीको अध्यक्ष र पिएनमा स्ववियु सदस्य भए । २०४५ मा अनेरास्ववीयु केन्द्रिय सदस्य हुँदै २०५० मा पोखरा नगर कमिटी सचिव भएका थापाको राजनीति निकै लामो छ । उनले २०४३ देखि २०४५ सम्म पोखरा, दमौली र गोरखा गरी झण्डै २ बर्ष जेल जीवन विताएका छन् । उनी २०५० मा पोखराको नगर सचिव समेत बने । जनसाँस्कृतिक संघको संस्थापक नगर अध्यक्ष थापा दुई दशकअघि देखि लगातार नेकपा एमाले कास्कीको जिल्ला कमिटीमा छन् । २०६६ सालदेखि सचिव हुँदै हाल अध्यक्ष थापासँग पोखरा उपमहानगरपालिकाको प्रमुख भएर जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव छ ।
२०४९ सालमा उपमेयरमा पराजित भएका थापा ०५४ सालमा मेयरमा निर्वाचित भएका थिए । २०४७ मा नेकपा माले जिल्ला सदस्य भएका उनी पार्टी एकीकरणपछि २०५१ म एमालेका जिल्ला सदस्य थिए । थापाले ०५१ सालमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र क्षेत्र नम्बर २ को पार्टी संयोजक भएर पनि काम गरेका थिए भने विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा बसेर काम गरेका थिए । थापाले पञ्चायतकालमा २८ महिना जेल जीवन बिताएका छन् । उनी नेपाल चिकित्सक सहायक संघको संस्थापक सचिव समेत हुन् । २०७० को दोश्रो संविधानसभा चुनावमा काँग्रेस नेतृ शारदा पौडेलसँग पराजीत उनी दोश्रो प्रयासमा सफल बने ।