मृतकको पेट काटिएपछि घटनाको छानवीन गर्न माग

पोखरा, साउन २२ ।
गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको २ साता मृत्यु भयो । उनलाई बोक्सी लागेर मारेको आरोप लगाउँदै छिमेकीलाई सामाजिक बहिष्कार गरे । बोक्सीले पेटमा भ्यागुता, सर्प हालिदिएको भन्दै उनीहरुले शव समेत काट्न भ्याए ।

त्यसपछि पीडित पक्ष सदरमुकाम झरेर न्यायको खोजी गरिरहेका छन् । मानव अधिकार कर्मीहरुले पनि घटनाको छानवीन गर्न दवाव दिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै मानव अधिकारकर्मीहरूले गुरुङको पेटमा भ्यागुता, सर्प र छेपारो रहेको भन्दै शव चिरफार गरेको घटनाको पनि छानबिन गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो ।

बोक्सी लागेर भीमकुमारको साउन १० गते मृत्यु भएको भन्दै युवाहरूले स्थानीय दुई जना महिलालाई बोक्सी आरोप लगाएका छन् । युवाहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि प्रहरीले आरोपित युवालाई नियन्त्रणमा लिन सकेको छैन ।

दुई पटकसम्म काशीगाउँ पुगेको प्रहरी रित्तै सदरमुकाम फर्किएको थियो । तर प्रयास गरिरहेको गोरखा प्रहरीले जनाएको छ ।