मुस्ताङ दुर्घटनाको शव पोखरा ल्याईयो (नामावली सहित)

पोखरा, असार २३ ।
मुस्ताङमा शुक्रबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । १२ जना घाईते छन् । उनीहरुको अवस्था अहिले सामान्य भैसकेको छ ।

अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । मुस्ताङको स्याङबोचेमा मजदुर बोकेको टिपर सडकबाट भिरमा खसेको हो ।

मृत्यु हुने सबैजना कालिगण्डकी करिडोरमा कार्यरत मजदुर हुन् । दुर्घटनामा परेर ज्यान गुमाएकाको शव पोखरा ल्याईएको छ । हेलिकोप्टरमार्फत शवलाई पोखरा झारिएको हो । पोखराबाटै सबै शवलाई सम्बन्धित जिल्लामा पठाउने तयारी छ ।

दुर्घटनामा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुनको मृत्यु भएको छ । यस्तै दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३५ वर्षीय सुबेर चौधरी र २५ वर्षीय कमल बुढा छन् ।

धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया बिन्ती घर्ती र २३ वर्षीया विनीता घर्ती, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री छन् । अझै २ जनाको पहिचान खुलेको छैन । स्याङजा र धादिङका ४ वटा शव पोखरा राखेर सबै शव दाङ लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।