मुस्ताङमा ३ फिट सम्म हिउँ जम्यो (फोटो फिचर)

मुस्ताङ, माघ २६
टोप विक । मुस्ताङ पुनः भारी हिमपात भएको छ । मुस्ताङ जिल्ला भरी नै अत्याधिक मात्रामा हिमपात पछि जनजिवन कष्टकर भएको छ । मुस्ताङको घासा देखि लोमान्थाङ सम्म नै डेढ फिट देखि ३ फिट सम्म हिउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले जानकारी दिएका छन् ।
मुस्ताङ सदरमुकाम जोमसोमाम पनि एक फिट देखि २ फिटसम्म हिउँ जमेको छ । यसका साथसाथै छुसाङ, छोसेर, चराङ, लोमान्थाङ लगायतका क्षेत्रमा ३ फिट सम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले बताएको हो ।
सडक र हवाई यातायात बन्द भएपछि यात्रु भने अलपत्र परेका छन् । मुस्ताङमा केही दिन देखि केही मात्रामा पनि आन्तरिक पर्यटक भित्रिएका थिए । आन्तरिक पर्यटकहरुले हिउँको अनुभव गर्न पाएका छन् ।
हिमपात पश्चात घरपालुवा तथा बन्यजन्तुलाई प्रत्यक्ष असर पारेको छ । चरण क्षेत्र ढाकिएकाले पनि उच्च हिमाली भेगमा चरणका लागि लगिने भेंडा, च्याङ्ग्रा, याक तथा चौरीहरुलाई असर परेको छ । हिमपातले कृषकहरुलाई पनि फाईदा पुगको छ ।
राति देखि नै हिउँ परेपछि सडकमा जमेको हिउँको कारण सवारी साधनहरु पनि सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रमुह विष्णु बहादुर पल्ली मगरले जानकरी दिएका छन् । सडकमै दुई फिटसम्म हिउँ जमेकाले सवारी साधन चल्नै नसक्ने मगरले बताए । सवारी चल्नै नसक्ने र सुरक्षाको दृष्टिकोणले खतरा हुने हुँदा सवारी साधन सञ्चालनमा रोक लगाइएको मगरले बताएका छन् । उनका अनुसार स्थानीयबासी, प्रशासन लगायतसँग सहकार्य गरी हिउँ पन्छाएर सडक शीघ्र सञ्चालनमा ल्याईने छ ।
हिमपातको प्रभावले मुस्ताङ जिल्लामा रहेको एकमात्र विमानस्थल पनि बन्द अवस्मा रहेको विमानस्थन प्रमुख भानुभक्त ढकालले जानकारी दिएका छन् । विमानस्थलको रन वे मा २ सम्म हिउँ जमेकोले कुनै प्रकारका उडान हुन नसक्ने ढकालले बताएका छन् । रन वे को अवस्था सुधार गरेर पुनः उडान गरिने उनले जानकारी दिए ।