मुस्ताङमा काँग्रेस र एमाले मात्रै

सुन्दरकुमार थकाली
मुस्ताङ, कार्तिक ५ ।
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मुस्ताङमा आइतबार मनोनयनपत्र दर्ता भएको छ । प्रतिनिधीसभाका लागि काँग्रेस र एमालेका उम्मेदवारले मात्रै उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा प्रजातान्त्रिक र राप्रपाले अलग अलग उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट पूर्व बाणिज्य मन्त्री रोमी गौचन थकालीले उम्मेदवारी दिए । नेकपा एमालेका तर्फबाट प्रेम प्रसाद तुलाचनले उम्मेदवारी दर्ता गरे ।
गौचन र तुलाचन यसअघिको चुनावमा पनि आमनेसामने भएका थिए । २०७० को चुनावमा काँग्रेस विरुद्ध नै बागी बनेका कारण तुलाचन रोमीसँग पराजीत भएका थिए । दुवै उम्मेदवार थासाङ गाउँपालिका लेतेका हुन् ।
प्रदेशसभा तर्फ (क) मा काँग्रेसले मिक्यूर गुरुङलाई उम्मेदवार बनाएको छ भने एमालेबाट इन्द्रधारा बिष्टले उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा काँग्रेस र एमालेको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा (ख) का लागि सांसद बन्न ४ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दिए । नेपाली काँग्रेसबाट छिरिङ धावा गुरुङले उम्मेदवारी दर्ता गराए भने एमालेबाट महेन्द्र बहादुर थकालीले उम्मेदवारी दिए । राप्रपा प्रजातान्त्रिकका प्रविण कुमार शेरचन र राप्रपाका नरबहादुर हिराचनले पनि प्रदेश सांसदका लागि मनोनयन दिएका मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । बाम गठबन्धनका कारण माओवादी केन्द्रले भने उम्मेदवारी दिएको छैन ।
यसअधि ठुलो संख्यामा नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा समर्थित कार्यकर्ता अलग अलग ¥याली सहित जिल्ला अदालत जोमसोममा मनोनयनपत्र दर्ता गर्न पुगेका थिए ।