मुस्ताङमा एकैदिन चार हजार पर्यटक

पोखरा, कार्तिक ८ ।
मुस्ताङमा पछिल्लो समय निकै धेरै पर्यटक पुग्छन् । प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ । मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे । दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेका हुन् ।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ । मुस्ताङस्थित ट्राफिक कार्यालयका सई डोलेन्द्र हमालका अनुसार दसैंपछिका दिनमा सबैभन्दा बढी मंगलबार ३ हजार ९ सय २ जना आन्तरिक पाहुना जोसमोम प्रवेश गरेका थिए । गत शनिबार १ हजार ५ सय ४२ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए । आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ ।

हमालका अनुसार मंगलबार ३६ वटा बस, ३ सय ७० वटा जिप, ७ सय १५ मोटरसाइकल र २ वटा पर्यटक जिप (हरियो प्लेट) का गाडीमा ती पाहुना मुस्ताङ पुगेका थिए। त्यस्तै शनिबार १४ बस, १ सय २६ जिप, १ सय २५ मोटरसाइकल र ४२ वटा पर्यटक जिप मुस्ताङ भित्रिए । आइतबार २८ बस, २ सय १६ जिप, ३ सय ५० मोटरसाइकल र ५ वटा पर्यटक जिप तथा सोमबार १४ बस, एस सय ७ जिप, २ सय ७५ मोटरसाइकल र ८ वटा पर्यटक जिपमा पर्यटक त्यहाँ पुगेका थिए ।–नागरिक