मुस्ताङभित्रै ‘मिनी मुस्ताङ’ !

पोखरा, फागुन ४ ।
जति उकालो लाग्यो, उति अनौठो । हिउँदमा हिउँको च्यादर, दिउँसो चिसो सिरेठो । मुस्ताङ यात्राको क्रममा देखिने र अनुभूत हुने कुरा हुन् यी । यतिमात्रै कहाँ हो र ? प्रसिद्ध मुक्तिनाथ, मान्छेले वर्षौँ लगाएर खोपेकाजस्ता सुन्दर नांगा राता पहाडहरु पनि मुस्ताङका बिम्ब हुन् । हिमालपारीको जिल्ला मुस्ताङबारे यति मात्रै भन्दा पनि कम हुन्छ ।

रहस्यमयी गुफाहरु, माटोको सहर उपल्लो मुस्ताङका किस्सा झन् अनौठा छन् । भिक्षुको ‘ओम माने पेमे हुँ…’ को मन्त्र गुन्गुनाएर नथाक्ने मुस्ताङको यही अलौकिक र रहश्यमयी छविले यो विश्वभर चिनिएको छ । सबैको रोजाइको गन्तव्य बनेको छ ।

प्रसिद्ध चक्रीय अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मुस्ताङको यही सौन्दर्यलाई अब भने एकै ठाउँमा हेर्न पाइने भएको छ । मुस्ताङ सदरमुकाम जोमसोममा रहेको घरपजोङ गाउँपालिकाले मुस्ताङमा रहेका सबै पर्यटकीय ठाउँ, संस्कृति झल्कने ‘मिनी मुस्ताङ’ पार्क बनाउने भएपछि सिंगो मुस्ताङ एउटै थलोमा हेर्न मिल्ने भएको हो ।

मिनी मुस्ताङ परियोजनाको प्रारम्भिक प्रतिवेदन अनुसार मिनी मुस्ताङ करिब ३ सय ३५ रोपनी क्षेत्रफलमा फैलिनेछ । करिब ४० करोडको लागतमा बन्ने मिनी मुस्ताङमा जिल्लाभित्र रहेका धार्मिकस्थलहरु मुक्तिनाथ, दामोदरकुण्ड, ४ वटै गाउँपालिकामा रहेका बस्तीहरु, गुम्बाहरु, काठेपुल, संग्रहालय, कलाकेन्द्रका प्रतिमूर्तिहरु बनाइनेछ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुृर थकालीका अनुसार त्यो पर्यटकीय गन्तब्यमा पस्नेले शुल्क तिर्नुपर्नेछ । त्यहाँ रेष्टुरेन्ट, क्युरियो पसलहरु पनि रहनेछन् । मिनी मुस्ताङ परियोजनको लागि गाउँपालिका, गण्डकी प्रदेश सरकार, संघीय सरकार र निजी क्षेत्रसँग हातेमालो गरिने उनले जनाए ।

परियोजनाको प्रारम्भिक मोडल हेरेपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो परियोजना निर्माणले एउटा पर्यटकीय गन्तब्य थपिने बताए । उनले संघीयताकै कारणले गर्दा एउटा गाउँपालिकाले यति ठूलो परियोजना निर्माणको आँट्न सक्ने बनाएको पनि बताए । उनले यो परियोजनामा निजी क्षेत्रलाई पनि साथ लिन आग्रह गर्दै आँटेर अघि बढे ४ वर्षमा परियोजना सम्पन्न हुने धारणा राखे ।

प्रदेश सांसद महेन्दबहादुर थकालीले यो परियोजनाले मुस्ताङको नयाँ परिचय थपिने बताए । अर्का सांसद ईन्दधारा विष्टले मिनी मुस्ताङमा हिजो लोमान्थाङबासीले प्रयोग गर्ने परम्परागत शौचालयसहितका संरचना बन्नुपर्ने बताए । पत्रकार बाशुदेव मिश्रले यो खवर नेपाल खवरका लागि लेखेका हुन् ।