मुस्ताङको लोमन्थाङ–माटाको शहरमा पर्यटकीय महोत्सव

पोखरा, जेठ ६ ।
माटाको शहर मुस्ताङको लोमन्थाङको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही जेठ १६ देखि १९ गतेसम्म महोत्सव हुने भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा लोमन्थाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुशील अर्यालले लोमन्थाङको पर्यटकीय महत्वलाई उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

‘कृषि, खेलकूद, संस्कृति, गुफा, दरबार, प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार’ नाराका साथ आयोजना गर्न लागिएको महोत्सवका सहभागीले त्यहाँस्थित गुफामै बस्ने, खाने र रमाउन पाउने उनले बताए । माटै(माटोबाट बनेका प्राचीन शैलीका घर बस्तीका कारण छुट्टै पहिचान बनाएको लोमन्थाङको प्राचीन संस्कृति, याकमा सवार, घोडादौड, होर्तो, तिर हान्ने, बोरा दौडलगायत प्रतियोगिता, मुसा बिरालो दौड, म्हने नाच आदि देखाइने छ ।

मुस्ताङको ऐतिहासिक तिजी मेलासमेत पर्ने भएकाले महोत्सवका सहभागीले त्यसको समेत अवलोकन गर्न पाउने छन् । महोत्सव सम्पन्न गर्न गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । लोमन्थाङ आफैमा विशिष्ट पहिचानयुक्त स्थल भएका कारण यसको प्रचारप्रसारका लागि पनि महोत्सव आवश्यक भएको प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले बताए ।

महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवबाट २ करोडको कारोबार हुने र करिव १८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । सांसद विष्टले महोत्सव र लोमान्थाङ घुम्नका लागि सबैलाई निम्तो दिएका छन् ।

‘मुस्ताङमा पर्यटक नजाने होईन । जोमसोमसम्म प्लेन चढेर जान्छन् । मुक्तिनाथ हुँदै लोमान्थाङबाट कोरला पुगेर फर्किन्छन्, उनले भने–यो मात्रै होईन अरु गन्तब्य पनि छन् भनेर चिनाउन महोत्सवले सघाउँछ । हाम्रो लक्ष्य त्यही हो ।’