मुलुकको भविष्य काँग्रेससँग छ–थापा

पोखरा, कार्तिक २६ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार यज्ञ बहादुर थापाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् । पोखरा १४ मा निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन पछि बोल्दै उनले हरेक अप्ठ्यारा स्थितीमा देशलाई काँग्रेसले निकास दिने गरेको स्मरण गरे । ‘विगतमा काँग्रेसकै अगुवाईमा मुलुकले निकास पाएको छ । पूराना शासन ब्यवस्था हटाउनेदेखि संविधान निर्माणसम्ममा काँग्रेसको नेतृत्व छ, उनले भने–अहिले पनि देश संकटमा छ । त्यसैले काँग्रेसको जीत अपरिहार्य भएको छ ।’
क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार कृष्ण केसीले वामपन्थीको नाममा कम्युनिष्टहरुले जनतालाई धोका दिएको आरोप लगाए । कम्युनिष्टहरु अवसरको पछि लागेर देश जटिल परिस्थितीमा परेको भन्दै उनले काँग्रेसलाई बहुमत दिएमात्रै सही दिशा दिन सकिने बताए । कार्यक्रममा प्रदेश १(ख) निर्वाचन परिचालन समितिकी संयोजक सरस्वती गुरुङ, नेता बोधराज कार्की, बोधराज बराल, किरण केसी, समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ लगायतले बोलेका थिए । उनीहरुले शनिवार पोखरा १४ का विभिन्न टोलहरुमा घरदैलो गर्दै मतदातासँग मत मागेका छन् । घरदैलोका क्रममा उम्मेदवारहरुलाई स्थानीयहरुले भब्य स्वागत गरेका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
यसैवीच, उम्मेदवारहरु थापा, केसी र प्रदेशसभा (क) का उम्मेदबार जीवन परियार शनिवार नेपाल शिक्षकसँगले आयोजना गरेको भेलामा सहभागि थिए । उनीहरुले उच्च मनोवलका साथ पार्टीलाई बिजयी गराउने अभियानमा जुट्न शिक्षकहरुसँग आग्रह गरे ।