मुख होईन रुख हेर्नुस्–मन्त्री श्रेष्ठ

पोखरा, कार्तिक २४ ।
नेपाली काँग्रेसका नेता उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटन पछि बोल्दै उनले संविधान कार्यान्वयन र देशको समृद्धीका लागि काँग्रेसलाई नै विजयी गराउनुपर्ने जिकीर गरे । ‘संसारबाट लोप भएको कम्युनिष्टलाई हामीले नेपालमा स्वागत गर्नुछैन, उनी भन्छन्–अहिले मुख हेर्ने हैन रुख हेर्ने हो । आँखा चिम्लेर चारवटै छाप काँग्रेसको रुख चिह्नमा लाउनुस् ।’
कम्युनिष्टको चाहाना साम्यवादी अधिनायकवाद भएको आरोप लगाउँदै उनले कम्युनिष्टको गठबन्धन तोड्नुपर्ने बताए । कम्युनिष्टहरु मिलेर नेपालीले पाएका अधिकार खोसेर एकदलीय शासन ल्याउन खोजेका छन् । काँग्रेससँग जीवन र मरणको सवाल छ, श्रेष्ठले भने–काँग्रेसले मात्रै निकास निकाल्न सक्छ र विकास गर्न सक्छ ।’
कार्यक्रममा कास्की २ का प्रदेशसभा सदस्य उम्मेदवार देवराज चालिसेले अत्याधिक मतका साथ काँग्रेस विजयी हुने भन्दै सक्रियताका साथ तयारी गर्न आग्रह गरे । ‘जनता कुनैपनि पार्टीको पेवा होईनन् । राम्रा कामका लागि जनताले मतदान गर्नेछन्, उनले भने–हाम्रा एजेण्डा जनता समक्ष पु¥याउनुपर्छ । चुनाव हामी जित्छौं ।’ जनताले विकास र समृद्धी चाहेका भन्दै चालिसेले त्यसको जिम्मेवारी काँग्रेसले लिने दावी गरे ।