मुख्यमन्त्री र सभामुखको शपथ, ४ सदस्यीय मन्त्रीमण्डल गठन

प्रकाश ढकाल
पोखरा, फागुन ५ ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । विशेष समारोहका बीच शुक्रबार विहान प्रदेश प्रमुख बाबुराम कुवँरले गुरुङलाई शपथ गराएका हुन् । माघ २८ गते एमाले संसदीय दलको नेतामा निर्वाचित भएपछि भोलिपल्टै प्रदेशप्रमुखले उनलाई मख्यमन्त्रीमा नियुक्त गरेका थिए । बुधबार नै मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम भनिएपनि कान्छीआमा रतनकुमारी गुरुङको निधन भएपछि शपथको कार्यक्रम २ दिनपछि सारिएको हो । गुरुङ लमजुङको प्रदेशसभा (ख) बाट निर्वाचित सांसद हुन् । शुक्रबार मुख्यमन्त्रीसँगै प्रदेशसभाका सभामुखले पनि शपथ लिएका छन् । प्रदेशप्रमुख कुवँरले सभामुख नेत्रनाथ अधिकारीलाई शपथ गराए । अधिकारी विहिबारको प्रदेशसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । माओवादीका नेता उनी पर्वत क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए । प्रदेशका अर्का तीन मन्त्रीले पनि शुक्रबार शपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा नियुक्त भएका तीनै मन्त्रीलाई प्रदेशप्रमुखले शपथ गराए । सांसद रामशरण बस्नेतलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिईएको छ भने हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुन (गृह) र लेखबहादुर थापालाई भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त गरिएको हो ।
सुरुमा माओवादीले मन्त्री नदिएपछि बस्नेतलाई मात्रै मन्त्रीको रुपमा शपथ गराईएको थियो । तर विवादका बीच माओबादी केन्द्रले शुक्रबार साँझ आफ्नो भागमा परेका दुई मन्त्री पठाएको हो । उनीहरुको जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार नै शपथ गराईएको छ । योसँगै प्रदेश ४ मा ४ सदस्यीय मन्त्री परिषद् गठन भएको छ । दिउँसो दुई सदस्यीय परिषद्को बैठक बसेर प्रदेशका ५ बर्षे कार्ययोजना सार्वजनिक गरेको भएपनि थप दुईजनालाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नियुक्त गरेर प्रदेश प्रमुखसँग शपथ गराएका हुन् । अरु मन्त्रीपनि छिट्टै विस्तार हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मन्त्रीहरुले शुक्रबार नै पदबहाली गरेका छन् ।
पहिलो शपथसँगै प्रदेश ४ को मन्त्रीपरिषद् बैठकले प्रदेशमा केही नमूना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो बैठकले २ बर्षभित्रै प्रदेश ४ का सबै घरमा विद्युत विस्तार गरिसक्ने महत्वपूर्ण निर्णय गरेको छ । हाल ८५ प्रतिशत घरमा मात्रै बिजुली पुगेको छ । बाँकी १५ प्रतिशत घरमा प्रदेशमै विद्यतु उत्पादन गरेर वितरण गर्ने प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । यस्तै ५ बर्षभित्रमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण र प्रदेशका सबै स्थानीय तहको केन्द्रसम्म प्रदेश राजधानीको सडक पहूँच विस्तार गर्ने र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने योजना पनि अघि सारेको छ । स्थानीय तहसँगको समन्वयमा २ बर्षभित्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने निर्णय समेत भएको प्रबक्ता बस्नेतले बताए । प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम (मल्टिल्चर भिलेज) स्थापना गर्ने, सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतिय सुशासनमा जोड दिने मन्त्रीपरिषद्को निर्णय छ । बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक नियमावली र कार्यविधि पनि स्विकृत गरेको छ । प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली २०७४, प्रदेश सरकारको कार्यविभाजन नियमावली २०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ स्विकृत गर्ने निर्णय भएको प्रबक्ता बस्नेतले बताए ।