मुख्यमन्त्रीले मागे संसदबाट बिश्वासको मत

पोखरा, फागुन २५ ।
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट बिश्वासको मत मागेका छन् । एमाले र माओबादीको समर्थनमा गत माग ४ गते मुख्यमन्त्रीको रुपमा काम थालेका उनले अरु सांसदसँग पनि सहयोग गरिदिन आग्रह गरे ।

संसद बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले धेरै बिकासका खाका तयार गरिसकेको भन्दै सहज रुपमा काम गर्न सबैको बिश्वास चाहिने बताए ।

उनले आगामी बजेटको सामान्य नीति तथा कार्यक्रम खाका पनि प्रश्तुत गरेका छन् ।

५ बर्षभित्र समृद्द प्रदेश बनाउन सरकारको पूर्ण ध्यान केन्द्रित रहने उनको भनाई छ ।

नेपालको संबिधानको धारा १६८ उपधारा २ बमोजिम मेरो अध्यक्षतामा मन्त्रीमण्डल गठन भैसकेको छ, उनले भने–३० दिनभित्र बिश्वासको मत लिनुपर्ने ब्यबस्था छ । आज म बिश्वास मागिरहेको छु । सहयोगका लागि आग्रह गर्दछु ।

उनले फागुन १८ गते नै बिश्वासको मत लिन संसद सचिवालयमा सुचना पठाईसकेका थिए ।

गुरुङको प्रश्तावमा एमाले सांसद मायानाथ अधिकारी, माओवादीका रामजी बराल र जनमोर्चाका कृष्ण थापाले समर्थन जनाए भने काँग्रेसका कृष्णचन्द्र नेपाली र नयाँ शक्तिका हरिशरण आचार्यले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने भन्दै बिश्वासको मत नदिने बताए ।