मुख्यमन्त्रीलाई स्वागत ‘५५ झ्याले दरबार’मा रेड कार्पेट !

पोखरा, माघ १५ ।
वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि पोखरामा ‘५५ झ्याले’ भवनको सिंगारपटार सुरु भइसकेको छ । सीप विकास केन्द्रका लागि श्रम मन्त्रालयले निर्माण गरेको यो भवन आधुनिक तर दरबार जस्तै छ । यही भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउन अहिले दिनरात काम भइरहेको छ । यो भवनमा १ सय ८० झ्याल छन् तर, अघिल्लो भागमा ५५ झ्याल भएका कारणसरकारी कर्मचारी तथा इन्जिनियरहरु यसलाई ‘५५ झ्याले दरबार’ भन्ने गरेका छन् ।
निर्माणाधीन ३ तले भवनको सम्पूर्ण काम सक्न अझै समय लाग्ने भए पनि मुख्यमन्त्रीको कार्यालय, प्रमुख सचिव, क्याविनेट बैठक, साझा बैठकका लागि कोठा तत्काल तयार भइरहेको भवन निर्माण डिभिजन कार्यालय प्रमुख किशोरलाल महाजुले बताए । अहिले भवनलाई रङरोगन गरेर चिटिक्क पारिएको छ भने अन्य काम द्रुत गतिमा भइरहेको हो । निर्माणाधीन भवनको कम्पाउन्डमा माटो भएकाले मुख्यमन्त्रीको गेटदेखि कार्यकक्षसम्म रातो कार्पेट ओछ्याइने र दाँयाबाँया हरियो कार्पेट ओछ्याइने तयारी गरिएको छ ।
‘मुख्यमन्त्री, प्रमुख सचिव, क्याबिनेट तथा साझा बैठक कोठा तयार पारिराख्नु भन्ने निर्देशन आएको छ,’ महाजूले भने, ‘निर्देशनअनुसार हामीले लगभग सबै तयार पार्दैछौं ।’ क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई सरकारले प्रमुख सचिव तोकिसकेको छ । मुख्यमन्त्रीको कार्यालय रहने भवनमै प्रमुख सचिवको कार्यालय रहनेछ, जुन लगभग तयार भइसकेको छ । मंगलबारसम्म मुख्यमन्त्री, प्रमुख सचिव, क्याबिनेट बैठक र साझा बैैठक कोठामा बिजुली, फर्निचर, कार्पेट लगायत सबै तयार भइसक्ने सुपरभाइजर कृष्ण अधिकारीले बताए । ‘सबै काम सम्न समय लाग्छ तर केही कार्यालय प्रयोजनका लागि सोमबारसम्म कोठा तयार भइसक्छन्’ अधिकारीले भने, ‘मुख्यमन्त्री, प्रमुख सचिव लगायत केही कार्यालय सञ्चालन हुँदै जान्छन्, भवन निर्माणको काम पनि हुँदै जान्छ ।’
यही भवनमा मुख्यमन्त्रीको कार्यालयसँगै गृह र अर्थ मन्त्रालय समेत राख्ने तय गरिएको छ । भवनमा ७० भन्दा धेरै कोठा छन् । चैतसम्म काम सक्ने गरी सिनर्जी कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का दिइएको थियो । तर, तत्काल कार्यालय सञ्चालन गर्नुपर्ने भएपछि एकदुई हप्ताभित्रै केही कार्यालय तयार पार्न भनिएको छ । पोखरामा रहेका पश्चिमाञ्चल क्षेत्रीय कार्यालयहरुमा मन्त्रालयहरु राख्नका लागि तयार पारिँदै छ । निर्माण डिभिजन कार्यालयमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालय राख्ने तयारी भइरहेको कास्कीका सिडिओ तारानाथ अधिकारीले बताए ।
पत्रकार अमृत सुवेदीले अनलाईखवरका लागि समाचार लेखेका हुन् ।