मुख्यमन्त्रीमा २ गुरुङको रस्साकस्सी (के भन्छन् नेताहरु ?)

पोखरा, माघ ८ ।
४ नम्बर प्रदेशको मुख्य मन्त्री एमालेले पाउने पक्का छ । गठबन्धन हुने वित्तिकै यहाँको मुख्य मन्त्री एमालेको भागमा पुग्छ । अहिले एमाले भित्र पनि को मुख्य मन्त्री हुने भन्ने छलफल चलिरहेको छ । यो प्रदेशमा लमजुङका सांसद पृथ्वीसुब्बा गुरुङ र तनहुँका सांसद किरण गुरुङको नाम मुख्यमन्त्रीमा चर्चित छ । यी दुई मध्ये एक अनुहार ४ नम्बर प्रदेशको मुख्य मन्त्री बन्नेछन् । तर दुवै दावेदार एकले अर्कालाई नछोड्ने अडानमा छन् । एमाले प्रदेश कमिटीका संयोजक समेत रहेका किरण गुरुङ पार्टीको नेतृत्व आँफुले सम्हालेका कारण आँफै मुख्यमन्त्री बन्ने दावी गर्छन् । उता केन्द्रिय कमिटिका सचिव पृथ्वीसुब्बा गुरुङ मर्यादाक्रममा आफुँ अगाडी भएको भन्दै मुख्यमन्त्री नछोड्ने अडानमा छन् । मुख्यमन्त्रीकै लागि उनी प्रतिनिधीसभा छोडेर प्रदेशमा चुनाव लडेका श्रोत बताउँछ ।
किरण गुरुङले जनमत र पार्टीले पनि आँफुलाई चाहेका कारण मुख्यमन्त्रीमा दावी गरेको बताएका छन् । ‘केही साथीहरुले किरण केपी गुटको होईन भनेर आरोप लगाउनुहुन्छ । तर म ओली पक्षकै हुँ, स्पष्टिकरण दिँदै उनले भने–गुटका कारण हिसावमा मलाई कमजोर बनाउनुभएको हो । ओली कमरेडकै पक्षमा भएका कारण म कमजोर छैन ।’ उनी बामदेव गौतम पक्षका नेता भएको एमालेकै नेताहरु बताउँछन् । उनले बामदेवसँग जोडेर आँफुलाई कमजोर बनाउने प्रचारबाजी भएको टिप्पणी गरे । पृथ्वीसुब्बा गुरुङ चाहीँ ओलीका खाटी मान्छेको रुपमा चिनिन्छन् । उनले पार्टीमा आँफु सिनियर भएकाले आफ्नो दावी अर्थपूर्ण भएको बताए । ‘सांसद भएपछि दावी गर्नु नौलो होईन । कि माथीबाट निर्णय हुन्छ नत्र दलभित्रै चुनाव हुन्छ, उनले भने–म चाहीँ छोड्दिन । वहाँले छोड्नुभएन भने चुनाव हुन्छ ढुक्क हुनुस् ।’
पार्टीभित्र चुनावको अवस्था आए पृथ्वीसुब्बाले जित्ने एमाले श्रोत बताउँछ । ‘आन्तरिक रुपमा चुनाव भए पिएस कामरेडले जित्नुहुन्छ । वहाँकै पक्षमा बहुमत छ, श्रोतले भन्यो–मुख्यमन्त्री त पिएस नै हो । सकेसम्म सहमतिमा हुन्छ ।’ अर्को खेमाले भने किरण पूराना नेता भएकाले पिएसले छोड्नुपर्ने दावी गर्छ । राष्ट्रियसभाको चुनावपछि मात्रै मन्त्रीमण्डल विस्तार र मुख्यमन्त्रीको निर्वाचन हुने नेताहरुले बताएका छन् । यद्यपी यो बीचमा पनि आन्तरिक छलफल भने चलिरहने छ ।