मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त

पोखरा, भदौ २७ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले नेकपा केन्द्रिय सदस्य समेत रहेका ४३ वर्षीय नेपालीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो । उनको अवधी २ वर्षको हुने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

संविधानसभाको २ कार्यकाल र प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि तत्कालीन नेकपा एमालेबाट समानुपातिकको सूचीमा परेपनि उनी सांसद हुन सकेनन् ।

कुश्मा नगरपालिका २ खुर्कोटमा जन्मिएका नेपालीको जन्मथलो पर्वत भएपनि बागलुङबाट राजनीति गर्छन् । २०४७ सालमा बाग्लुङको महेन्द्र बहुमुखी क्याम्पसमा अखिलको प्रारम्भिक कमिटीको अध्यक्ष बनेर नेपालीले राजनीतिक यात्रा सुरु गरेका हुन् । सोही क्याम्पसको स्ववियु सदस्य, अध्यक्ष हुँदै उनी २०५४ अनेरास्ववियु बाग्लुङको संयोजक र २०५७ मा अध्यक्षसमेत बने ।

उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५७ सालको अनेरास्ववियु ईकाई कमिटिका सदस्य समेत हुन् । यस्तै, विद्यार्थी राजनीतिकै क्रममा १६ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य र १७ औँ बाट केन्द्रिय कमिटी सदस्य पनि बने । उनी साविकको एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

एमालेनिकटको वर्गीय संगठन मुक्ति समाज बाग्लुङको २ कार्यकाल अध्यक्ष पश्चात हाल केन्द्रिय सचिवालय सदस्य रहेका छन् । १० वर्षे तत्कालीन जनयुद्धमा उनी तत्कालीन शाही सरकारले राज्य विप्लवको आरोपमा उनलाई मुद्धा लगाएको थियो । त्यतिबेला तत्कालीन सरकारले देशैभरिबाट राज्यविद्रोहको आरोपमा पक्राउ पर्ने २ जनामध्येमा गोविन्द नेपाली पनि एक थिए, यो मुद्धा खेप्ने साविकको एमालेका एकमात्र नेता पनि उनै हुन् ।

२०६२ साल भदौ ७ गते कांग्रेसका गगन थापासँगै उनलाई पक्राउ गरि राज्यविद्रोहको मुद्धामा शाही सरकारले १९ दिन हनुमानढोकामा थुनेको थियो । भदौ २६ गते नै उनी सर्वोच्चको आदेशमा रिहा भएका थिए । बौद्धिक नेताको छवि बनाएका नेपाली प्रेस चौतारी बाग्लुङका संस्थापक अध्यक्ष समेत हुन्, भने पत्रकार महासंघ बाग्लुङका सदस्य पनि रहेका छन् ।