‘माहुरीहरु उडेर विदेश गैरहेका छन्, उनीहरुलाई गाउँमै रोकेर मह बेच्ने योजना बनाउँदै छु’–बराल

पोखरा, कात्तिक २१ ।
बाटो, विजुली, खानेपानी सबै उम्मेद्वारले बोक्ने चुनावी एजेण्डा हुन् । तर चुनावसम्म मात्रै । त्यसपछि मतदाताहरु त्यही बाटो, विजुली र पानीको आसमा हुन्छन्, अर्को निर्वाचनसम्म । ५ वर्षसम्म जितेर गएकाहरु फर्केर गाउँ फकिँदैनन् । प्रकाश ति आम उम्मेद्वार भन्दा फरक छन् ।

उनीसँग बाटो, विजुली र खानेपानीका सपना मात्रै छैनन्, सिँगै फेवाताल, अन्नपूर्ण हिमाल र नेपालको पर्यटन क्षेत्र धानेको अन्नपूर्ण सर्किटको केही भाग छ । बरालले निर्वाचित भएकै दिनदेखि आफ्ना एजेण्डा सरकार र सम्बन्धित निकायमा सुनाउने र जतिसक्दो छिटो पर्या पर्यटन विकासका लागि मेहिनत गर्ने बताए । ‘फेवातालको फेरोका पिडाबारे मैले बुझेको छु । जनताका समस्या छामेको छु,’ उनले भने, ‘मैले जति सजिलोसँग तालको समस्या समाधान गर्न सक्छु, अरुलाई उत्तिकै गाह्रो छ ।’

सन् १९५० मा माउरिस हार्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गर्दा उनी जन्मिएकै थिएनन् । हार्जोगले पाइला टेकेपछि फस्टाएको अन्नपूर्णको पर्यटन आजभोली सुस्ताएको छ । सुस्ताएको पर्यटन उकास्ने नारा सबैले दिन्छन्, तर कसरी ? कसैसँग रोल मोडल छैन ।

बरालले संरक्षण सहितको विकास र पर्यावरण सहितको पर्यटन अवधारणा अघि सारेका छन् । ‘बनिसकेका सडक नबनाउ भन्दा जन विरोधी भइन्छ । अहिले सडकका विषयमा जनप्रतिनिधि र गाउँलेविच द्धन्द्धजस्तै छ । गाउँमा सडक पनि लैजानुपर्ने छ, पर्यटक पनि छोड्न भएको छैन,’ बरालले अघि भने, ‘यसको तादम्यता भनेकै सोही गन्तब्यमा फरक ठाउँबाट नयाँ ट्रयाकको खोजी गर्ने हो । लगानी महंगो पर्छ तर ढिलो गर्नु हुँदैन ।’

फेवातालको डिलदेखि अन्नपूर्णको सिरानसम्म जुनसुकै कुनापनि पर्यटकका लागि नौलो र उत्कृष्ट गन्तब्य छन् । यसलाई सम्हाल्न सक्दा यो क्षेत्रको विकास खोज्न टाढा जानु पर्दैन । नत रोजगारीका लागि नौला नारा र चर्का भाषण आवश्यक पर्छ । ‘हरेक गाउँबाट हिमाल देखिन्छन् । जहाँ पनि होमस्टे चलाउन सकिन्छ । दिनभरी थाकेको मान्छे साँझ यसो उकालो लाग्यो भने कुनै न कुनै पर्यटकीय गाउँ पुग्छ,’ उनले भने, ‘तर ति गाउँहरु रित्ता किन भैरहेका छन् ? हामीले खोज्नुपर्ने कुरा त्यही हो जस्तो लाग्छ । यसबाट गाउँ पनि रित्तिँदैन । जमिन बाँझा हुँदैनन् र कोही बेरोजगार बस्नु पर्दैन ।’

घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का, नयाँपुल, बीरेठाँटी, भदौरे, सल्यान लगायत गाउँहरु विस्तारै रित्तिएका छन् । गाउँलेले गाउँ छोड्नुमा बेरोजगारी मात्रै छैन । अधिकांश बस्तीहरु बाँदर र जंगली जनावरसँगको द्धन्द्ध झेल्न नसकेर पनि गाउँलेहरु गाउँ छोड्न बाध्य छन् किसानहरु । ‘म चुनाव उठेको क्षेत्र कृषिका लागि पनि उस्तै प्रख्यात छ, जति पर्यटनसँग जोडिएको छ । हरेक गाउँ कुनै न कुनै उत्पादनले परिचित छन्,’ बराल भन्छन्, ‘गाउँका माहुरी उडेर विदेश गैरहेका छन् । अब उनीहरुलाई रोकेर गाउँमै मह उत्पादन गर्ने हो । आएका पर्यटकलाई खुवाउने र पैसा कमाउने । अहिले म बाटा विजुलीका सपना भन्दा यस्ता योजनामा घोत्लिरहेको छु ।’

उनले अन्नपूर्ण बेस क्याम्प र त्यहाँसम्म पुग्ने पदमार्गलाई अझै व्यवस्थित गर्ने योजना सुनाए । बीरेठाँटीबाट तिखेढुंगा हुँदै टाढापानीबाट घान्द्रुक झर्ने अर्को पदमार्गको मार्गचित्र कोरेका छन् । यहाँ केही कुण्डहरु र विशेष डाँडाहरु पर्छन् । लुम्लेबाट छिरेर तान्चोक, पुम्दीभुम्दीबाट चापाकोट, कास्कीकोट, सराङकोट हुँदै पोखरा झर्ने अर्को पदमार्ग पनि उनको नजरमा छ । यसअघि नै केही योजना चुनावी घोषणापत्र बनेपनि काम अघि बढेको छैन । पुम्दीकोटको विशाल महादेव मन्दिरलाई अन्तराष्ट्रिय करण गर्न सके हजारौं स्थानीयले त्यहीँबाट रोजगारी पाउन सक्ने विश्वास बराललाई छ । उनी यो मुर्ती निर्माणमा अहोरात्र खटेका ब्यक्ति पनि हुन् ।

फेवातालको फेरोमा पनि फुटट्रयाक बनाउनुपर्ने उनी बताउँछन् । ‘लेकसाइड भनेपछि आजपनि मान्छेहरुले ३ किलोमिटर क्षेत्रलाई मात्रै बुझ्छन् । पुम्दीको फेदी पनि त तालको किनारमा छ । त्यो पनि लेकसाइड हो । तर त्यसले कुनै लाभ पाएको छैन,’ भन्छन्, ‘प्राकृतिक श्रोतबाट प्राप्त लाभको समान उपभोग सबैले गर्न पाउनुपर्छ । फुटट्रयाक बनाइदिने भने कमसेकम पुम्दी क्षेत्रका नागरिकले पनि आफ्ना बारीमा फलेका फसल बेच्ने बाटो बन्छ ।’ राजनीतिमा लाग्दा कसैका पनि साह्रै ठूला सपना र आकांक्षा हुँदैनन् । अहिले प्रधानमन्त्री र विभिन्न पदमा आसिनहरुलाई नै हेरौं, कतिपयले यो पद अपेक्षा गरेका थिएनन् । राजनीतिक निरन्तरताले हरेक मान्छे देशको बागडोरमा पुग्छ भन्ने पुष्टी गर्न धेरै उदाहरणहरु आवश्यक छैनन् ।

बराल सानो उमेरमै आमा गुमाएर पनि समाजलाई प्रकाश दिनका लागि निरन्तर लागिरहे । जनआन्दोलन देखि देश परिवर्तनका हरेक मुद्धाहरुमा उनले गाउँलेलाई एककठ्ठा गरे । सडकमा झारे अनि त्यसको नेतृत्व आफैले लिए । सानै उमेरमा नेविसंघबाट राजनीति थालेका उनी अहिले नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि र प्रदेश कार्यालयको प्रमुख सचिवका रुपमा कार्यरत छन् । करिव डेढ दशक उनले खेलकुद विकास समितिमा रहेर युवाहरुसँग नजिकिने काम गरे । उनै बराल अहिले कास्की क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य उम्मेद्वारका रुपमा प्रश्तुत भएका छन् ।