‘माफ गर्नुस् ! झापामा चुनाव हारेको विश्वप्रकाश काठमाडौंमा उम्मेदवार बन्दैन’

काठमाण्डौं, असोज २५ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा सहभागिता नजनाउने स्पष्ट पारेका छन् । आज एक ट्विट गर्दै नेता शर्माले झापामा चुनाव हारेकाले आफू काठमाडौंमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् ।

यसअघि नेकपाका सचिवालय सदस्य बामदेव गौतमलाई संसदमा जाने बाटो खुल्ला गर्न भन्दै काठमाडौं ७ का निर्वा्चित सांसद रामवीर मानन्धरले पार्टीमा सांसद पदबाट राजिनामा दिएको पत्र बुझाएका थिए । सोपश्चात् काठमाडौं ७ को उपनिर्वाचनमा कांग्रेसका तर्फबाट शर्माले चुनाब लड्ने चर्चा चलेको थियो ।आफूप्रति जताइएको शुभेच्छाका लागि आभार प्रकट गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र ?’ गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट नेकपा नेता राम कार्कीसँग पराजित भएका थिए ।

हाल उपनिर्वाचनका लागि शर्मासँगै विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलगायतको समेत चर्चा सुनिएको छ । यसअघि नेकपा नेता गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। उनलाई सांसद बनाउने भन्दै यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका नेकपाका सांसदहरुलाई राजीनामा गराउने प्रयास गरिएको थियो ।

तर, कुनै पनि क्षेत्रका सांसदहरुले राजीनामा दिन नमानेपछि अन्ततः काठमाडौं ७ का निर्वाचित सांसद मानन्धर सांसद पद त्याग्न राजी भएका थिए । सोसँगै एक जना व्यक्तिको लागि शक्तिको आडमा लोकतन्त्रको उपहास गरिएको तथा उपनिर्वाचनका नाममा राज्यलाई व्ययभार थप्न नहुने भन्दै सामाजिक सञ्जालमा तीव्र असन्तुष्टिसमेत जनाइएको छ ।