मान्छे तान्ने त्रिशूलीः ३ बर्षमा २३८ गाडी पस्यो, १७७ जनाको मृत्यु

भरतपुर, साउन २६ ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन् । दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ ।

अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूलीमा खसे । भरतपुरको जुगेडीदेखि धादिङ सिमाना मौवाखोलासम्म भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आव ०७४/७५ मा १४ वटा गाडी नदीमा खसेका थिए । तिनमा २२ जनाको मृत्यु भयो ।

०७५/७६ मा १५ वटा गाडी त्रिशूली खसे भने २६ जनाले ज्यान गुमाए । साउनमा मात्रै चार वटा सवारीसाधन त्रिशूलीमा खसेका छन् । त्यसअघि पनि थुप्रै गाडी त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । ०७३ असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी घोप्टेभीरबाट दुई सय मिटर त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । घटनामा चार जनाको मृत्यु भएको थियो । घिमिरेसहित दुई बेपत्ता भए ।

गोताखोरले पानीको गहिराइमा पुगेर खोज्दा पनि गाडी भेट्न सकेनन् । त्यसको केही दिनअघि मालवाहक ट्रक खसेर नदीमा गायब भएको थियो । ०७३ भदौ १० गते रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस त्रिशूलीमा खस्दा २५ जनाको मृत्यु भएको थियो ।

०७३ साउनदेखि माघसम्म मात्रै २१ वटा गाडी त्रिशूलीमा खसेको तथ्यांक छ । नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा २०७४ असार ९ गते पहिरो पन्छाउने क्रममा पहिरोले बगाएर त्रिशूलीमा डुबेको प्रहरीको भ्यान बेपत्ता छ । घटनामा प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको थियो ।

आव ०७३ देखि अहिलेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा एक सय ४१ सवारी दुर्घटनामा परे । त्यसमा १०३ जनाको मृत्यु भयो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि मौवा खोलासम्म ९७ वटा दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाए । प्रायः मालवाहक ट्रक, ग्यास बुलेट, यात्रुवाहक बस र मोटरसाइकल सडकबाट खसेका छन् ।

घुमाउरो सडक र चालकको लापरबाहीका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ । रातको समयमा चलेका साधन बढी दुर्घटनामा परेका छन् । प्रहरी प्रतिवेदनअनुसार अधिकांश घटना चालकको लापरबाहीबाट भएको देखिन्छ । तीव्र गति र चालक निदाउने मुख्य कारण भएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।