मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी

पोखरा, पुस ६ ।
कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महिनादेखि लगातार दिनमा तथा रातको समयमा समेत नदीबाट ढुङ्गा, बालुवा निकालेर लैजाने गरेको सूचनाका आधारमा बुधबार गरिएको अुनगमनका क्रममा ठूलो परिमाणमा ढुङ्गा तथा बालुवा अवैधरूपमा सङ्कलन गरी जम्मा गरिएको फेला परेको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए ।

अनुगमन निरीक्षणका क्रममा कुनाकोमुख क्षेत्रबाट बालुवा अनुमानित २५१ घनमिटर तथा ढुङ्गा १४५ घनमिटर जफत गरिएको छ । त्यस्तै मादबेँसीबाट बालुवा ६३ घनमिटर, ढुङ्गा तीन घनमिटर तथा कोइलानी क्षेत्रबाट बालुवा ७२ घनमिटर तथा ढुङ्गा १२ घनमिटर फेला पारी सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले जानकारी दिए ।