मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, नेकपा–काँग्रेसको छुट्टाछुट्टै प्रश्ताव

पोखरा, साउन ८ ।
कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी गरिएको छ । सबै वडालाई पायक नपरेको भन्दै याङजाकोटबाट तारकाङ सार्न लागिएको हो । गाउँपालिकाले कार्यालय सार्नका लागि सुझाव संकलन गर्न छुट्टै समिति नै गठन गरेको थियो । समितिले तारकाङ र भैंसेलाई उपयुक्त विकल्प भनि पेश गरेको थियो ।

तर नेकपा र नेपाली काँग्रेसले छुट्टाछुट्टै ठाउँ रोजेपछि समितिले गरेको सिफारिस गाउँसभामा पेश नै भएन । ‘नेकपाले तारकाङ भनेको छ । काँग्रेस चाहीँ भैंसे भन्छ, गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ –श्याम) भन्छन्–राजनीतिक सहमति नजुटेपछि प्रश्ताव नै गाउँसभामा लगिएन । अहिलेलाई यो बिषय स्थगीत भएको छ ।’

कुनैपनि पार्टीको दुई तिहाई बहुमत नभएकोले राजनीतिक सहमति नभए केन्द्र सार्न नसकिने उनको भनाई छ । ‘जनताहरु कार्यालय टाढा भो भनेर गुनासो गर्छन् । सम्भव भयो भने सारौं न त भनेर जग्गा खोजिएको थियो, उनले थपे–याङजाकोटबाट सार्ने बिषयमा दुवै दल सहमत भयो तर कहाँ राख्ने भन्ने बिषयमा सहमति जुट्न सकेन ।’

मादी ८ का वडाध्यक्ष यामबहादुर गुरुङ चाहीँ भैंसे उपयुक्त भएको तर्क गर्छन् । ‘जनताको सुविधाका लागि हो भने भैंसे सार्नुपर्छ । याङजाकोटबाट तारकाङ सार्नुको कुनै अर्थ छैन, उनले भने–संरचना बनिसक्यो । अव भत्काएर अन्त लैजान मिल्दैन । यति नजिक सारेर जनताले सारेको महशुस गर्न सक्दैनन् ।’ श्रोतका अनुसार ४, १० र १२ नम्बर वडा सहित उपाध्यक्षको टोली तारकाङ सार्ने पक्षमा छ भने अरु चाहीँ भैंसेको पक्षमा छन् । मादी गाउँसभामा काँग्रेसको २१ र नेकपाको ४१ जना सदस्य छन् ।

सार्वजनिक लेखा समितिका संयोजक समेत रहेका वडा सदस्य सरोज केसी पनि मादी कोरीडोर आसपास नभए केन्द्र सार्न नमिल्ने बताउँछन् । राजनीतिक मुद्धा बनाएर सांसदको जोडबलमा तारकाङ केन्द्र सार्न लागिएको आरोप लगाउँदै उनले त्यसो नगर्न सुझाव दिए । ‘नामको बिषयमा छलफल गर्ने एजेण्डा गाउँसभा हुनुभन्दा १ साता अघि हामीलाई दिईएको थियो । तर छलफल गर्नुपर्ने दिन उपाध्यक्ष ज्यूले एजेण्डा र्फिता लिनुभयो, उनले भने–गलत भन्ने थाहा हुँदाहुँदै यस्तो प्रश्ताव गर्नु राम्रो होईन । तारकाङ कुनै हालतमा केन्द्र बन्न सक्दैन ।’

गाउँपालिकाकी उपाध्यक्ष तथा जग्गा अनुगमन कार्यदल संयोजक विष्णु पौडेल चाहीँ जनताको माग अधिक भएकोले जसरी पनि केन्द्र सार्नुपर्ने बताउँछिन् । ‘हामीले घोषणापत्रमा पनि लेखेका छौं पायक पर्ने ठाउँमा र जनतालाई सुविधा पुग्ने ठाउँमा केन्द्र राख्ने भनेर । याङजाकोटमा धेरैलाई समस्या भैरहेको छ, उनले भनिन्–धेरैको सहमति भैंसेको साझामा देखियो तर उपयुक्त जग्गा चाहीँ मझुवामा भेटिएको छ । थप एक्सरसाईज गरेर प्रश्ताव ल्याउँछौं ।’ भोटिङमा भन्दा सर्वसम्मत रुपमा निर्णय गर्न पाए सहज हुने भन्दै उनले त्यसकै लागि अभ्यास भैरहेको बताईन् ।