मादीमा हलगोरु पाल्नेलाई अनुदान

पोखरा, साउन ८ ।
मादी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको घोषणा गरिएको हो । ‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि आवश्यक व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

राडीपाखी, कम्बल, भांग्रा, स्विटर, झोला बनाउने तानहरुलाई आधुनिकीकरण गर्ने र उद्यमशीलता विकास गर्ने कार्यक्रम अघि सारिएको छ । आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, युवा तथा खेलकुद र साहित्यलाई स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।

गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गाउँसभाको १३ औं अधिवेशनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कृषितर्फ ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति छ । आगामी वर्ष पालिकाले आफ्नै कृषि एम्बुलेन्स खरिद गर्ने कार्यक्रम बनाएको छ ।

सिक्लेस, ताङतिङ र याङ्जाकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति छ । ‘मादी गाउँपालिकाको वडा नं १ को सिक्लेस, २ को ताङतिङ र ३ को याङ्जाकोटलाई पर्यटकीय गन्तव्यरुपमा विकास गर्न थप अध्ययन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । साथै, पालिको विभिन्न स्थानमा पदमार्ग निर्माण र सडक, पुल सिंचाइ आयोजना बनाउने नीति लिएको छ । पालिकाले आफ्नै प्रज्ञा प्रतिष्ठान बनाउने भएको छ ।

गाउँपालिकाका सामुदायिक विद्यालयमा मावि तह (कक्षा १२) अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको घोषणा गरेको छ । मादीले एक मावि एक उद्यमअन्तर्गत हरेक शुक्रबार ‘नो बुक, नो ब्याग’ अभियान सञ्चालन गरी व्यावहारिक शिक्षामा जोड दिने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।