मादीमा भैंसी-बाख्रा सुत्केरी भए किसानलाई भत्ता, गाउँ फर्किनेलाई घर बनाउन १ लाख

पोखरा, असार १० ।
कास्कीको मादी गाउँपालिकाले पालिकाले भैंसी, गाई र बाख्रा सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत २० लाख विनियोजन गरिएको हो । भगवतीटारमा चिस्यानकेन्द्र निर्माण गर्न १ करोड ५० लाख, पर्यटकीय सम्भाब्यता अध्ययन गर्न र पूर्वाधार विकासका लागि ४० लाख छुट्याइएको छ । सबै सामुदायिक विद्यालयमा सञ्चालित प्लस टु पढ्ने विद्यार्थीलाई पूर्ण छात्रबृत्ति दिने र गाउँपालिका फर्केर बस्न चाहने नागरिकलाई आवास निर्माणमा १ लाख अनुदान दिने कार्यक्रम सञ्चालन गरिने अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

यस्तै, विवाह गरेर श्रीमति वितेपछि विदुर पुरुषलाई भत्ता दिने कार्यक्रम छ । हलगोरु पाल्ने किसानले पनि अनुदान पाउनेछन् । आगामी वर्षको लागि करिव ८९ करोडको बजेट ल्याएको छ । उपाध्यक्ष कल्पना गुरुङले ८८ करोड ८२ लाखको बजेट गाउँसभामा प्रश्तुत गरेकी हुन् । मादीलाई संघ सरकारले वित्तीय समानीकरण शीर्षकमा ८ करोड ५० लाख, सशर्त अनुदानमा २३ करोड ६१ लाख, सशर्त अनुदानमा १ करोड ६ लाख, विशेष अनुदान १ करोड ५० लाख र समपुरक अनुदान १ करोड ६० लाख दिनेछ । अन्य पूँजीगत अनुदानमा १ करोड ६० लाख, राजश्व बाँडफाँटबाट ९ करोड ८३ लाख, विद्युत रोयल्टी १ करोड, पर्वतारोहण रोयल्टी ४ लाख, वन रोयल्टी २५ हजार पाउने छ ।

गण्डकी सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५ लाख, विशेष २५ लाख, समपुरक ६० लाख, सशर्त २५ लाख र राजश्व बाँडफाँटबाट ९० लाख पाउने छ । अन्य सशर्त अनुदानमा ८ लाख तथा सडक वोर्डले ३० लाख अनुदान दिनेछ । पालिकाले २ करोड ३९ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी वर्षको प्रश्तावित बजेट चालू वर्षको भन्दा करिव १ करोड कम हो ।

पूरा बजेटमध्ये आर्थिक विकासमा ६ करोड ३० लाख, सामाजिक विकासमा ४९ करोड ९९ लाख, पूर्वाधार विकासमा १७ करोड ४१ लाख, वन, वातावरण तथा विदप व्यवस्थापनमा १ करोड २७ लाख र सुशासन तथा संस्थागत विकासमा १३ करोड ८३ करोड बजेट विनियोजन भएको छ ।