मादीको नीति कार्यक्रम–गाउँगाउँमा सडक, कोरीमा केबुलकार

प्रकाश ढकाल
पोखरा, असार १० ।
मादी गाउँपालिका कास्कीको विकटमध्ये पर्छ । अझै धेरै गाउँहरुमा सडक ट्रयाक समेत पुगेको छैन । गाउँपालिकाले आगामी बर्ष एक गाउँ एक सडक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रश्तुत गर्दै एक गाउँ एक सडक कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारिएको हो । अधुरा सडकलाई पूरा गर्ने र ट्रयाक खुलेका सडकलाई बाह्रै महिना चल्ने बनाउनका लागि पर्याप्त बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले बताए ।

दुईबर्षभित्र प्रदेशको राजधानी पोखरादेखि गाउँपालिकाको केन्द्र याङजाकोटसम्मको सडक कालोपत्रे गरिसक्ने, मादी कोरिडोरलाई पूर्णता दिने, गाउँपालिकाको केन्द्र र वडा केन्द्रसम्मको सडक सञ्जाल विस्तार गर्ने लगायत योजना गाउँपालिकाको छ । ‘केही कामले पोखरा झरियो भने फर्केर गाउँपालिका आउन गाह्रो छ । यस्तो ठाउँमा सेवाग्राहीलाई सेवा दिन पनि सजिलो छैन,’ उनले भने, ‘सबैभन्दा पहिले गाउँपालिका भित्रका सडक स्तरोन्नती गर्छौं । यातायातको सहज पहुँच भएपछि मात्रै विकासको सुरुवात हुन्छ ।’

पर्यटन, कृषि, जलश्रोत, वन र पूर्वाधारलाई समृद्धीको आधार बनाएर सोही अनुसार योजना तयार गरिएको उनले बताए । गाउँपालिकाभित्र माटो परीक्षण गरी कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने र सम्भावना भएका वडाहरुमा चिस्यान केन्द्र बनाएर किसानको उत्पादनलाई बजारीकरणमा सघाउने नीति कार्यक्रममा उल्लेख छ । हिमाली क्षेत्रहरुमा सम्भाब्यता अध्ययन गरी जडिबुटी र स्याउ खेतीका लागि किसानलाई आकर्षित गर्ने, मौरीपालनको सम्भावना रहेका ठाउँमा ब्यवसायिक पालनमा जोड दिने र सामुहिक सहकारी खेती प्रणालीलाई बढी महत्व दिएको छ । गाउँपालिकाले पशुपंक्षी पालन मार्फत अण्डा र मासुमा आत्मनिर्भर हुने लक्ष्य तय गरेको छ ।

स्थानीय कच्चा पदार्थमा आधारित राडी, पाखी, कम्बल, भाङग्रा, झोला बनाउन आधुनिक तान उपलब्ध गराउने र मादीको छुट्टै ब्राण्ड बनाउने अध्यक्ष गुरुङ बताउँछन् । पर्यटन प्रबद्र्धनका लागि सिक्लेसदेखि कोरीसम्म केवुलकार सञ्चालनको लागि आवश्यक पहल गर्ने गाउँपालिकाको तयारी छ ।

यसको सम्भाब्यता अध्ययन समेत पूरा भैसकेको छ । केवुलकारलाई गाउँपालिका गौरवको आयोजनाको रुपमा प्रश्ताव रिएको छ । सिक्लेसलाई सांस्कृतिक गाउँको रुपमा विकास गर्ने, तप्राङमा वन्यजन्तु पार्क निर्माण गर्ने, सिक्लेसदेखि मनाङसम्मको पदयात्रा सञ्चालन गर्ने लगायत कार्यक्रम समेत समावेश छन् । गाउँपालिकाले मंगलबार आगामी बर्षको बजेट प्रश्तुत गर्दै छ । त्यसकै लागि सोमबार नीति तथा कार्यक्रम ल्याएको हो । नेपाली काँग्रेसका सदस्यहरुको विरोधका बाबजुत नीति कार्यक्रम पास भएको छ ।