माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु

 

नुवाकोट, साउन १९ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो ।

गएको जेठ २ गते आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन भइसकेको थियो । दोस्रो युनिटबाट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट अहिले ६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट विद्युत उत्पादन भइरहेको जनाइएको छ ।

आयोजनाका दुवै युनिटले अहिलेसम्म २ करोड २० लाख युनिट विजुली उत्पादन गरेका छन् ।
त्रिशुली थ्रि ए जलविद्युत आयोजनाबाट पुर्ण रुपमा विद्युत उत्पादन सुरु भएसँगै नेपालको विद्युत खपतमा ८ प्रतिशत योगदान पुगेको छ ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ ।

काठमाडौंबाट नजिक रहेको र हिउँदमासमेत झण्डै ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान पुगेको बताइएको छ ।

१२ करोड ५८ लाख डलर लागतमा र्मिाण सम्पन्न भएको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैँकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

(ईमेजखबरबाट साभार)