मातपोत र नापी कार्यालय–पैसाबिना डेग चल्दैनन् कर्मचारी

काठमाण्डौं,
१५ हजार दिनुस् । आजै काम बन्छ ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे । सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले । ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए ।

१५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए । आइतबार अपरान्ह ४ः१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

विहान १२ बजे । कार्यालयमा भिड थियो । सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए । व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे । एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए । उनी बेलाबेला ती व्यक्तिसँग सुस्तरी कुरा गर्थे ।

खतिवडा भन्थे, ‘कति फिटको बाटो छ ?’ ती व्यक्ति सुस्तरी कुरा गर्थे । एकछिन कुरा गरेर खरदार खतिवडा कार्यालय भित्र छिरे । चस्मा लगाएका व्यक्ति उनलाई पर्खिरहे ।

करिब २ घन्टापछि फेरि खतिवडा बाहिर आए । फेरि सुरु भयो दुईजनाको खासखुस । खतिवडाले भने, ‘बाटो काटेर मिलाउदा १२ सम्म त हुन्छ होला ।’ ती व्यक्तिले अनविज्ञता जनाए । अन्तमा ती व्यक्ति खतिवडाको फोन नम्बर लिएर बाहिरिए ।