माछापुच्छ्रे हेर्न ड्यासाईडमा पार्क बनाईने, एक करोड लगानी हुँदै

पोखरा, असोज ९ ।
पोखराको ड्यामसाइड स्थित फेवा किनारमा माछापुच्छ«े प्रतिविम्ब पार्क (झण्डा पार्क) निर्माण गर्नका लागि सरकारले प्रक्रिया थालेको छ । प्रदेश सरकार र पोखरा महानगरपालिका को ५०/५० लाख रुपैयाँ लगानीमा पार्क निर्माण गर्न लागिएको हो । यसका लागि समिति गठन भएको छ ।

प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा अर्थ सचिव मुक्तिराम पाण्डे, भौतिक पूर्वाधार सचिव ईश्वरचन्द्र मरहट्टा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल र महानगरकै सिनियर डिभिजन इन्जिनियर शोभियत खड्का सदस्य रहेको समिति गठन भएको हो । समितिले पार्क सँगै महानगर र प्रदेश सरकारको समन्वयमा गरिने कामका बारेमा पनि अध्ययन गर्नेछ ।

पार्कका लागि समितिले एकसाताभित्र आवश्यक काम सकेर एमओयु गर्ने प्रक्रियामा लैजानेछ । ‘१ करोडको लगानीमा काम हुन लागेको हो । त्यसकै लागि समिति गठन भएको छ, महानगरका प्रशासकीय अधिकृत पौडेलले भने–एकसाताभित्र एउटा खाका तयार हुन्छ । त्यसपछि एमओयु गरेर काम सुरु गर्छौं ।’ पार्क निर्माणका लागि टेण्डर गर्ने मेयर मानबहादुर जिसी बताउँछन् । ड्यामसाईडको ४ रोपनी क्षेत्रफलमा माछापुच्छ«ेको शिर देखिने गरी पार्कको परिकल्पना गरिएको छ । जहाँ माछापुच्छ«ेको शिरमा नेपालको झण्डा रहनेछ ।

ईन्जिनियर किसान गुरुङले पार्क निर्माणका लागि डिजाईन तयार गरेका थिए । सोही डिजाईनलाई महानगरपालिकाले लगानी गरेर काम गर्न लागेको थियो । यद्यपी प्रदेश सरकारले पनि चासो देखाएकोले सहकार्य गर्न लागिएको मेयर जिसी बताउँछन् । ‘महानगरले पहिले नै कामको तयारी गरिसकेको थियो । पछि प्रदेश सरकारले पनि नेपालको झण्डा बनाउने भनेर छलफल हुँदा सहकार्य गरौं भनेका हौं, उनले भने–पोखरामा एउटा भएपनि हेर्न लायक ठाउँ बनाऔं भनेर पार्कको कन्सेप्ट आएको हो । पर्यटकका लागि पनि यो महत्वपूर्ण हुन सक्छ ।’