माछापुच्छ्रेको बजेट ६२ करोड

पोखरा, असार १० ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षको लागि करिव ६२ करोडको बजेट ल्याएको छ । उपाध्यक्ष सीता अधिकारीले गाउँसभामा ६१ करोड ६८ लाखको बजेट प्रश्तुत गरेकी छिन् ।

पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानीकरणमा ९ करोड ४७ लाख, सशर्तमा २६ करोड ५२ लाख, समपुरकमा १ करोड ६५ लाख र विशेष अनुदानमा १ करोड ३० लाख हस्तान्तरण गरेको छ । राजश्व बाँडफाँटबाट १० करोड ३८ लाख प्राप्त हुने अनुमान पालिकाको छ ।

प्रदेशले वित्तीय समानीकरणमा १ करोड २० लाख, राजश्व बाँडफाँटबाट ७४ लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान ७० लाख प्रदान गर्नेछ । पालिकाले ६ करोड २८ लाख आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ भने चालू वर्षको बैंक मौज्दात ३ करोड रहने बताइएको छ ।

पालिकाले आगामी वर्ष शिक्षा, युवा तथा खेलकुदसम्बन्धि कार्यक्रम गर्न २ करोड २४ लाख, स्वास्थ्यका कार्यक्रममा १ करोड १९ लाख, लक्षित वर्गमा १ करोड ६ लाख छुट्याएको छ । कोलचोकदेखि पानपाते हुँदै धम्पुस सडकका लागि १ करोड १५ लाख, लुम्रे कोलेली हुँदै ल्वाङ सडकका लागि ५० लाख र सडक मर्मतका लागि ४० लाख छुट्याइएको छ ।

भुर्जुङखोला घलेखर्क सडकको लागि ७० लाख सहित पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकास गर्न वडागत योजना तथा कार्यक्रमको लागि एकमुष्ट ४ करोड ७७ लाख विनियोजन भएको उपाध्यक्ष अधिकारीले बताइन् । गाउँपालिकाले वडागत पूर्वाधार विकासका लागि छुट्टै २ करोड २२ लाख विनियोजन गरेको छ । आगामी वर्ष दुध उत्पादनमा पालिकाको जोड छ ।

दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापना गर्न ९० लाख छुट्याइएको छ । पालिकाभित्रका पर्यटकीय पदमार्ग निर्माण र स्तरोन्नतीका लागि १० लाख, प्रबद्र्धनमुलक कार्यक्रम चलाउन १० लाख, सेवा प्रवाह, सुशासन र संस्थागत विकासका लागि एकमुष्ट २ करोड ४५ लाख बजेट छ ।