माछापुच्छ्रेको बजेट ५६ करोड

पोखरा, असार १३ ।
करिब दुई तिहाई रकम चालू खर्च सहित कास्कीको माछापुच्छ«े गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रश्तुत गरेको छ । विहिबार प्रश्तुत ५६ करोड ६१ लाखमध्ये चालू शीर्षकमा मात्रै ३८ करोड १६ लाख रुपैयाँ छ । पूँजीगत तर्फ १८ करोड ४४ लाख छ । गाउँपालिकालाई संघ सरकारले वित्तीय समानीकरण तर्फ ९ करोड ३१ लाख उपलब्ध गराएको छ भने राजश्व बाँडफाँटबाट ८ करोड ७७ लाख, सशर्त अनुदान १९ करोड ४ लाख, सामाजिक सुरक्षातर्फ १० करोड ९० लाख अनुमान गरिएको छ ।

गण्डकी प्रदेश सरकारले वित्तीय समानीकरण अनुदान १ करोड १९ लाख, राजश्व बाँडफाँटबाट २९ लाख ७३ हजार आम्दानी हुने अनुमान छ । २ करोड ११ लाख रुपैयाँ गाउँपालिका आँफैले आन्तरिक श्रोतबाट ब्यहोर्ने गाउँपालिकाले जनाएको छ । विनियोजित बजेटमध्ये अधिकांश पूर्वाधार विकासमा लगानीको प्रश्ताव गरिएको छ ।

आगामी बर्ष पुर्वाधार विकासमा १२ करोड ८० लाख खर्च हुनेछ भने सामाजिक विकासतर्फ ३ करोड २० लाख, आर्थिक विकासतर्फ १ करोड १२ लाख, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ८० लाख र संस्थागत सुशासनमा ५ करोड १३ लाख रुपैयाँ छुट्याईएको छ । सडकलाई विकासको पहिलो पूर्वाधार मानेर ७ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पर्यटन, कृषि, उर्जा र पुर्वाधारलाई प्राथमिकताका साथ नीति कार्यक्रममा समेटे पनि बजेटको पहिलो प्राथमिकतामा पूर्वाधारलाई अघि सारिएको छ । पर्यटन, कृषि र उर्जालाई बजेटले खासै समेट्न सकेको देखिँदैन । कृषि तथा पशु क्षेत्रको विकासमा ६२ लाख रुपैयाँ छुट्याएको छ भने पर्यटनका लागि ३० लाख मात्रै छ । खानेपानी र सरसफाईमा ६० लाख, सिञ्चाईमा १ करोड २७ लाख रुपैयाँ छ भने महिला तथा बालबालिकाका लागि २० लाख रुपैयाँ मात्रै बजेट राखिएको छ ।

बिहीवार पाँचौ गाउँसभा मार्फत राजश्व परामर्श समितिकी संयोजक तथा उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले आगामी बर्षको बजेट प्रश्तुत गरेकी हुन् । आगामी बर्ष होमस्टेको प्रबद्र्धन र विकासमा जोड दिने उनले सुनाईन् । गाउँपालिकाले १ घर १० कफीको विरुवा अभियान सञ्चालन गर्ने, शितभण्डार निर्माण गर्ने, सेती र मर्दी खोलाबाट सम्भावित उर्जा उत्पादन क्षमतालाई सदुपयोग गर्न सार्वजनिक तथा निजी क्षेत्रलाई लगानी मैत्री वातावरण तयार गर्ने लगायतका प्रश्ताव अघि आएका छन् ।

वित्त आयोगले असार १० भित्रै सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने नियम बनाएपनि माछापुच्छ«ेले यो नियम मानेन ।

दीगो विकासका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन योजना निर्माण गर्ने सोचमा रहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँपालिकाको प्रशासकीय भवन तथा वडा नम्बर ९ को कार्यालय परिसरमा निर्माण गर्ने, वडा नम्बर १ र २ जोड्न सेती नदीमा झोलुङ्गे पुल बनाउने, प्राविधिक विद्यालय संचालनका लागि सम्भाव्यता अध्ययन गर्ने, ८ नम्बर वडामा स्वास्थ्य चौकी स्थापना गर्ने लगायत योजना छन् ।

नीति तथा कार्यक्रम माथि छलफल गर्दै गाउँसभा सदस्य नन्दलाल गौतमले गाउँपालिकामा एक घर एक धारा कार्यक्रम नारामा मात्र सीमित गरिएको आरोप लगाए । उनले नदी कटान रोकथामको कुरा पनि समेट्टनुपर्नेमा जोड दिए । अर्का सदस्य रेशमकुमार नेपालीले कृषि कार्यक्रमलाई अझ स्पष्ट गर्नुपर्ने खाँचो औँल्याए । कृष्ण भण्डारीले समग्रमा नीति तथा कार्यक्रम राम्रो भएपनि केही कुराहरु अझै छुटेको बताए ।

बजेट अघि गाउँपालिका अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए । कास्कीका सबै स्थानीय तहले १० गते नै बजेट ल्याएपनि समय नपुगेको भन्दै माछापुच्छ«ेले दुई दिन ढिलो गरेको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रदेश सरकारको बजेट असार १ र स्थानीय सरकारले १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी नियम बनाएको छ । माछापुच्छ«ेले यो नियम मानेन ।
पत्रकार श्रीभद्र पौडेलले आदर्शसमाज दैनिकमा समाचार लेखेका छन् ।